मेलम्ची आयोजना '२०१६ भित्रै'

  • 16 अगस्ट 2014
Image caption मेलम्ची नदीको पानी सन २०१६ सम्म काठमाण्डू ल्याइपुर्याउने पछिल्लो योजना छ

मेलम्ची खानेपानी आयोजना सन् २०१६ को मध्यसम्ममा सम्पन्न गर्न जोडतोडका साथ लागिपरेको आयोजनाका मु्ख्य दाता एडीबीका एक उच्च अधिकारीले बताएका छन्।

एडीबी मेलम्ची आयोजनाको प्रमुख लगानीकर्ता एडीबीका उपाध्यक्ष वेन्साइ झाङ्ले काठमाण्डू उपत्यकाको खानेपानी वितरण प्रणाली सुधारका लागि थप सहयोगको निम्ति नेपाल सरकारसँग वार्ता भइरहेको बताएका छन्।

यद्यपी रोडा, ढुंगा तथा क्रसर व्यवसायीले केहि साता अघि थालेको हड्तालका कारण मेलम्चीको सुरूङ खन्ने काम समेत प्रभावित भएको जानकारी मेलम्ची खानेपानी विकास बोर्डका एक उच्चअधिकारीले बीबीसीलाई दिएका छन्।

तर यहि बेला नेपाल भ्रमणमा रहेका एडीबीका उपाध्यक्ष वेन्साइ झाङ्ले सबै कठिनाइहरुलाई पार गर्दै मेलम्चीको सुरूङ निर्माण कार्य समयमै सम्पन्न गर्न आफूहरु लागि परेको बताए।

लक्ष्य

शुक्रबार काठमाण्डूमा एक पत्रकार सम्मेलनमा उनले भने, “म आफै मेलम्चीको काम हेर्न गइरहेको छु हामी जे गर्नु पर्छ त्यो गरेर आयोजना छिटो अघि बढोस् भन्ने चाहान्छौ।“

“मेलम्चीको काम सन् २०१६को मध्य सम्ममा सकिनु पर्छ; त्यो भन्दा ढिलो हुनु हुँदैन।”

उनले आयोजना समयमै सक्नको निम्ति एडीबीले शहरि विकास मन्त्रालय र आयोजना कार्यान्वय निकायका साथीहरुसँग मेलम्चीको निम्ति के गर्न सकिन्छ भनेर छलफल गर्दै मिलेर काम गरिरहेको बताए।

झण्डै १५ वर्षअघि चर्चामा रहेको मेलम्ची आयोजनाको सुरुङ निर्माण कार्यमा एक इटालियन कम्पनी एक वर्ष देखि लागिरहेको छ।

उसले सन् २०१६को मध्य सम्ममा काम सिध्याउनु पर्ने छ।

लगानी

करिव २३ अर्ब रुपैंयाको लागतमा निर्माणाधीन मेलम्ची आयोजनामा ४५ प्रतिशत भन्दा बढी लगानी एडीबीको छ।

सुरूङ निर्माण संगै प्रसोधन केन्द्र र वितरण प्रणाली सुधारको काम पनि जारी रहेको अधिकारीहरुको भनाइ छ।

सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी काठमाण्डू ल्याउनको निम्ति निर्माणाधीन २७ किलोमिटर लामो सुरुङबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल झार्ने आयोजनाको लक्ष्य छ।