‘विप्रेषण विद्युत उत्पादनमा लगानी गरिने’

  • 18 अगस्ट 2014
Image caption विप्रेषणको रुपमा आएको रकम लगानी गर्नेलाई सामाजिक सुरक्षा सरह लाभांस दिइने जनाइएको छ

विदेशमा रहेका नेपालीहरुले पठाउने रकम विप्रेषणलाई विद्युत उत्पादनमा लगानी गर्ने तयारी सरकारले थालेको छ।

सरकारले स्थापना गरेको जलविद्युत लगानी तथा विकास कम्पनीले सोही तयारी स्वरुप कूल तीनसय मेगावाटका विभिन्न जलविद्युत आयोजनामा त्यस्तो रकम लगानी गर्ने प्रस्ताव यसैसाता प्रस्तुत गर्न लागेको अधिकारीहरुले बताएका छन्।

प्रत्येक कामदारबाट साढे तीन हजार रुपैयाँ उठाएर निवृतिभरण पेन्सन सरह तीस वर्षसम्म लाभांस वितरण गर्न सकिने कम्पनीको आंकलन छ।

प्रयास

शुरुमा सरकारी लगानीमा बन्ने भनिएको केही जलविद्युत आयोजनाहरु मध्ये आकर्षक देखिएकोमा लगानी गर्ने बताइएको छ।

नेपालमा विद्युत उत्पादनको सय वर्षभन्दा लामो इतिहास भए पनि दैनिक लोडसेडिङ भोगिरहनु परेको अवस्थामा जलविद्युत लगानी तथा विकास कम्पनीले विप्रेषणबाट भित्रिने रकम पनि विद्युत उत्पादनमा लगाउने योजना ल्याएको हो।

तर सरकारको पनि लगानी केही मात्रामा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले बताए।

उनले भने, “हामीले तीन सय मेगावाटको आयोजना निर्माणको लागि नेपाल सरकारलाई प्रस्ताव दिदैछौं। नेपाल सरकार र विद्युत प्राधिकरणको पनि लगानी हुन्छ तर ठुलो हिस्साको रुपमा विप्रेषणबाट आइरहेको रकमलाई नै समेट्ने हाम्रो प्रयास हो।”

पेन्सन

विदेशमा काम गरिरहेका धेरै नेपालीहरुले ठूलो रकम पठाउन नसक्ने र थोरै थोरै पठाएको रकम जीवन निर्वाहमै खर्च हुने भएकोले उनीहरुको पैसालाई उत्पादनमुखी काममा लगानी गर्न यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ।

रौनियार भन्छन्, “उहाँहरुले महिनाको साढे तीन हजार रुपैयाँ पाँच वर्ष सम्म लगानी गर्नु भयो भने आयोजनाले तीस वर्ष सम्म त्यति नै बराबरको पैसा पेन्सनको रुपमा दिन सक्ने अवस्था हामीले देखेका छौं।”

त्यसको अर्थ प्रति महिना जति लगानी हुन्छ त्यति नै रकम तीस वर्षसम्म दिन सकिने प्रमुख कार्यकारी अधिकृत रौनियारको भनाई छ।

यस्ता योजनाले विदेशमा कमाई गरेर फर्किएपछि नियमित जीवन धान्न धेरै नेपालीहरुलाई एउटा राम्रो आधार दिने अपेक्षा गरिएको छ।