बाढीपहिरो प्रभावित क्षेत्रमा सभासदहरु जाँदै

  • 18 अगस्ट 2014
Image caption सभासदहरुलाई बाढीपहिरो क्षेत्रमा पठाउने निर्णयलाई धेरैले सकारात्मक रुपमा लिएको बताइएको छ

अविरल वर्षापछि गएको बाढीपहिरोका कारण देशभर ज्यान गुमाउने र विस्थापित हुने मानिसहरुको संख्या बढिरहेका बेला यथार्थ स्थिति बुझ्नका लागि सरकारले मंगलबारदेखि सभासदहरुलाई प्रभावित क्षेत्रहरुमा पठाउँदैछ।

सभासदहरुले बाढीपहिरो प्रभावितहरुबारे तथ्यहरु संकलन गरी राहत, उद्धार र पुनर्स्थापनका लागि सरकारलाई सुझाव दिने नेताहरुले बताएका छन्।

संविधान निर्माणका कामहरु प्रभावित नहुने गरी एकसाताका लागि संविधानसभा बैठक स्थगित गर्ने समेत उनीहरुबीच सहमति भएको छ।

प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले राष्ट्रिय विपद् घोषणा गर्नुपर्ने माग गर्दै सोमबार संसदको बैठक अवरुद्ध गरेपछि बाढीपहिरोका कारण उत्पन्न संकटलाई संबोधन गर्न विपक्षी र सत्ताधारी दलहरु एकमत भएका हुन्।

विपद्

उद्धार र राहतका लागि सरकारले गरिरहेको प्रयासलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सभासदहरुलाई मंगलबारदेखि जिल्ला पठाउन लागिएको नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताए।

उनले भने, ''प्रमुख प्रतिपक्षी लगायत सम्पूर्ण दलका सभासदहरुको सहभागितामा देशभर बाढीपहिरोबाट जनतालाई कस्तो किसिमको असर परेको छ, प्रभावित क्षेत्रको जनताको अवस्था के छ। त्यो सबैकुरा बुझेर अनि उनीहरुलाई दिनुपर्ने राहतका सम्बन्धमा निर्णय भएर मंगलबारदेखिनै सो सम्बन्धमा काम गर्नका लागि संसदको बैठक एक हप्ताका लागि स्थगित भएको छ।''

बाढीपहिरो प्रभावित क्षेत्रहरुको धरातलीय यथार्थ बुझी सभासदहरु जिल्लाहरुबाट काठमाण्डू फर्केपछि उनीहरुले दिने सुझावका आधारमा सरकारले राहत, उद्धार र पुनर्स्थापनका लागि तात्कालिन, अल्पकालिन र दीर्घकालीन योजना बनाउने सहमति भएको एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोख्रेलले बताए।

योजना

बाढीपहिरोका घटनालाई प्राथमिकतामा पारेपनि यसबीचमा संविधान निर्माण प्रक्रियालाई भने प्रभावित नपार्ने गरी सभासदहरुलाई खटाइने उनको भनाई छ।

उनले भने, ''यो बीचमा हाम्रो सहमति के पनि भएको छ भन्दाखेरि यता राजनीतिक संवाद समितिमा रहेका सभासदहरुले चाहिँ संविधान निर्माणको विषयलाई ध्यान दिएर अरु सभासदहरु जिल्लामा जाने ढंगले सोच्नुपर्छ।''

जनतालाई प्रत्यक्ष भेटेर उनीहरुको अवस्था बुझ्ने र आईपरेको समस्या संबोधनका निम्ति आवश्यक पहल थाल्नका लागि सभासदहरुलाई यो राम्रो अवसर पनि भएको कतिपयको भनाई छ।