'मोसुलको बाँध लगभग कुर्द नियन्त्रणमा'

  • 18 अगस्ट 2014
तस्वीर कपीराइट AFP
Image caption विद्रोहीहरुले कब्जामा लिएको उक्त बाँध इराकको सबैभन्दा ठूलो बाँध हो

उत्तरी इराकको मोसुल शहर नजिकै रहेको रणनीतिक महत्वको एउटा बाँध पेशमुर्गा लडाकूहरुले इस्लामवादी उग्रवादीहरुबाट लगभग नियन्त्रणमा लिएको कुर्दिश सूत्रहरुले बीबीसीलाई बताएका छन्।

उक्त बाँधको वरिपरि इस्लामिक स्टेट सम्बद्ध विद्रोहीहरुले बिछ्याएका सुरुङ्ग र धरापहरु हटाउने प्रयास भैरहेको उनीहरुले जनाएका छन्।

कुर्द लडाकूहरुले गरेको स्थल कार्वाहीमा अमेरिकी सैन्यले हवाइ आक्रमण मार्फत सुरक्षा उपलब्ध गराएको थियो।

अमेरिकी रक्षा निकाय पेन्टागनको एउटा वक्त्व्यका अनुसार अमेरिकी लडाकू विमान र ड्रोनहरुले आइतवार १४ वटा आक्रमण गरेका थिए।

नियन्त्रण

उक्त रणनीतिक महत्वको बाँध इस्लामिक स्टेट अर्थात आइएस विद्रोहीहरुले गएको अगस्तमा आफ्नो नियन्त्रणमा लिएका थिए।

उक्त बाँध पानी र विजुलीको महत्वपूर्ण श्रोतका रुपमा रहेको छ।

यदी बाँधमा पुन नियन्त्रण कायम भएको पुष्टी भएमा त्यो गएको जुन महिना यता इराकमा आक्रमण शुरु गरेका विद्रोहीहरुलाई लागेको सबैभन्दा ठूलो धक्का हो।

अमेरिकाले आफूले विद्रोहीहरुका १९ वटा सवारी साधन र उक्त बाँधको वरिपरी खडा गरिएका जाँच केन्द्रहरु ध्वस्त पारेको बताएको छ।

आफ्नो कदमको बचाउ गर्दै व्हाइट हाउसले भनेको छ, मोसुलमा अवस्थित बाँधमाथि इराकी नियन्त्रण कायम गर्न सघाउन आफ्ना सैन्यलाई अमेरिकी राष्ट्रपति ओबामाले दिएको हवाई आक्रमणको अनुमति इराकस्थित अमेरिकी नागरिक र संरचनाहरुको सुरक्षा गर्ने उद्देश्य अनुरुप छ।

तस्वीर कपीराइट
Image caption उत्तरी इराकको पानी र विजुलीको मुख्य श्रोतका रुपमा मोसुलको बाँधलाई लिइन्छ

वासिङ्टनबाट बीबीसीका टम एसल्मन्ट भन्छन्, “अमेरिकी सुरक्षा अधिकारीहरु चिन्तित थिए किनभने उक्त बाँध फुटाइँदा अमेरिकी राजदुतावास रहेको बग्दादसम्म बाढी आउने खतरा रहेको उनीहरुको ठम्याइ थियो।"

प्रशंसा

अघिल्लो महिनासम्म इराकका परराष्ट्रमन्त्री रहेका कुर्द नेता होसयार जेब्बारीले बीबीसीलाई भने बाँधको लागि लड्दा पेसमेर्गा लडाकूहरुलाई विद्रोहीहरुले कडा प्रतिरोध गरेका थिए।

अबको अर्को लक्ष्य आइएसका विद्रोहीहरुलाई निनभा स्मथर क्षेत्रबाट लखेटेर अल्पसंख्यक समुदायलाई आफ्नै थलोमा फर्काउनु हुने उनको भनाई छ।

अमेरिकी कार्वाहीको प्रशंसा गर्दै उनले भने, “हवाई आक्रमण गरेर उनीहरुले गरेको हस्तक्षेप निक्कै महत्वपूर्ण थियो र मलाई लाग्छ यो कार्वाहीको लागि अनुमति दिएर विद्रोहीहरुलाई अघि बढ्नबाट रोक्न अमेरिकी प्रशासन सफल भएको छ।”

आइएसका विद्रोहीहरु अघि बढेपछि हजरौँ इसाई र यजीदी समुदाय घर छाडेर भागेका छन्।

बीबीसीका सुरक्षा सम्वाददाता फ्रांन्क गार्डनर भन्छन्, पछिल्लो ४८ घण्टा इस्लाम राज्यको पक्षमा रहेका जीहादीहरु विरुद्धको लडाँइमा महत्वपूर्ण प्रगति भएको छ।

तर मध्यपूर्वमा उक्त जीहादी समूहले हालै पाएको ठूलो सफलतालाई कमजोर बनाउन अझै धेरै समय लाग्न सक्ने उनको विश्लेषण छ।