मोसुल बाँध पुनः नियन्त्रणमा लिएको दावी

  • 18 अगस्ट 2014
तस्वीर कपीराइट
Image caption मोसुल बाँध पुनः नियन्त्रणमा लिने इराकी सेना र कुर्द लडाकुहरुको अभियानमा अमेरिकी सेनाले सघाइरहेको छ

भीषण भीडन्तबीच उत्तरी इराकस्थित रणनीतिक महत्वको मोसुल बाँध जिहादी समूह इस्लामिक स्टेटबाट पुनः आफूहरुको नियन्त्रणमा आएको इराकी र कुर्द अधिकारीहरुले बताएका छन्।

यद्यपि बगदादस्थित सैन्य कमाण्डले बाँधसँग जोडिएका संरचनाहरु नियन्त्रणमा लिनका लागि अझै संघर्ष जारी रहेको जनाएको छ।

एक विज्ञप्तिमार्फत इस्लामिक स्टेटले उक्त बाँधमाथि आफ्ना लडाकुहरुले नियन्त्रण गुमाएको कुरा अस्वीकार गर्दै आफूहरुले कुर्द सैनिकहरुलाई ठूलो क्षति पु-याएको दावी गरेको छ।

अमेरिकी सेनाको समन्वयमा कुर्दिशहरुले स्थलगत आक्रमण गरिरहेका छन्।

उसले हवाइ सहायता पनि उपलब्ध गराइरहेको बताइएको छ।

विरोधाभाष

कुर्दिश पेशमर्गा लडाकुहरु र इराकी सेनाले इस्लामिक स्टेटका लडाकुहरुबाट मोसुल बाँधमाथि पूर्णरुपमा नियन्त्रणमा लिईसकेको वा नसकेको विषयमा विरोधाभाषपूर्ण खबरहरु आइरहेका छन्।

इराकी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल कासिम अत्ताले इराकको सबैभन्दा ठूलो बाँधलाई पूर्णरुपमा कब्जामा लिइसकिएको राज्य नियन्त्रित टेलिभिजनलाई बताएका छन्।

सेनालाई संयुक्त हवाइ गस्तीबाट सघाइएको उनले बताए।

यद्यपि अमेरिकी सेनाले हवाइ आक्रमण गरे वा नगरेको विषयमा उनले प्रष्ट पारेनन्।

उक्त क्षेत्रमा रहेका पत्रकारहरुले भने बाँधको प्रमुख द्वारमाथि कब्जा जमाइरहेका जिहादी लडाकुहरु र सेनाबीच भीडन्त जारी रहेको बताएका छन्।

इस्लामिक स्टेटको वक्तव्य पनि सेनाको दावीसँग बाझिएको छ।

क्षति

उसले कुर्दिश लडाकुहरुलाई धपाएको र उनीहरुलाई ठूलो क्षति पुर्याएको बताएको छ।

अगस्त ७ तारिखमा इस्लामिक स्टेटले नियन्त्रणमा लिएको मोसुल बाँधको ठूलो रणनीतिक महत्व रहेको बताइएको छ।

मोसुलदेखि झण्डै ५० किलोमिटर माथि टिग्रिस नदीमा रहेको मोसुल बाँध वरपरको उत्तरी इराकको ठूलो क्षेत्रका लागि पानी र ऊर्जाको स्रोत हो।

यसअघि कुर्दिश अधिकारीहरुले पेशमर्गा लडाकुहरुले बाँध वरपरका अधिकांश क्षेत्रमाथि पुनः कब्जा जमाएको र पूर्ण नियन्त्रणका लागि अझै धेरै गर्न बाँकी रहेको बताएका थिए।

इस्लामिक स्टेटका लडाकुहरुले कडा प्रतिरोध गरिरहेको र सडकहरुमा बम लगायताका अन्य थुप्रै विष्फोट पदार्थहरु राखेको उनीहरुको भनाइ छ।

पेशमर्गाहरुको आक्रमणलाई सघाउँदै अमेरिकी लडाकु जेट र मानवरहित ड्रोनले सप्ताहान्तसम्म २५ वटा हवाइ आक्रमण गरेको र त्यसले इस्लामिक स्टेटका ३० वटा गाडीहरु र जाँचचौकीलाई हानेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ।