भारतको निर्णयले असल सम्बन्धको प्रयासमा झट्का: पाकिस्तान

  • 19 अगस्ट 2014
तस्वीर कपीराइट AP
Image caption भारतीय प्रधानमन्त्रीले आफ्नो सपथ समारोहमा पाकिस्तानी समकक्षीलाई पनि निम्तो दिएका थिए

पाकिस्तानले दुई देशका विदेश सचिवस्तरीय वार्ता रद्द गर्ने भारतीय निर्णयबाट छिमेकीसँग असल सम्बन्ध बनाउने आफ्नो देशको नेतृत्वको चाहनामा धक्का पुगेको बताएको छ।

बैठकको पूर्वसन्ध्यामा दिल्लीस्थित पाकिस्तानी उच्चायुक्तले कश्मीरका पृथकतावादी नेताहरुसँग परामर्श गरेको भन्दै भारतले बैठक रद्द गरेको थियो।

सूचित

भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले सम्वाददाताहरुलाई भने, “पाकिस्तानले भारतको आन्तरिक मामिलामा कसरी लगातार दखल दिइरहेको छ भन्ने कुरा प्रष्ट भएको छ।।”

भारतीय विदेश सचिवले पाकिस्तानी उच्चायुक्त कार्यालय गएरै बैठक रद्द गर्ने आफ्नो सरकारको निर्णयबारे अवगत गराएकी थिइन्।

उनले आफ्नो देशको आन्तरिक मामिलामा पाकिस्तानको हस्तक्षेप अस्वीकार्य रहेको कुरा त्यस अवसरमा राखेको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए।

पाकिस्तानी विदेश मन्त्रालयले उक्त कुराकानी परम्पराको निरन्तरता भएको बताएको छ।

सुधार

उसको विज्ञप्तिमा भनिएको छ, “दुई देशबीचको वार्ताभन्दा अघि कश्मीरी नेताहरुसँग बैठक गर्ने चलन लामो समयदेखि चल्दै आएको थियो। जसबाट कश्मीरी मुद्दामा अर्थपूर्ण कुराकानीको बाटो बनाउन सकियोस।”

तस्वीर कपीराइट AP
Image caption प्रस्तावित वार्तालाई दुईदेशबीचको सम्बन्ध सुधारको संकेतको रुपमा हेरिएको थियो

त्यस विषयलाई लिएर भारतले गरेको निर्णयबाट छिमेकीसँग असल सम्बन्ध बनाउने आफ्नो नेतृत्वको प्रयासमा धक्का पुगेको बताएको छ।

पाकिस्तानले भनेको छ, “पाकिस्तानी प्रधानमन्त्रीले स्पष्ट रुपमा शान्ति र विकाशको दृष्टिकोण पेश गरेका थिए। र, त्यही कारण उनले सपथ ग्रहण समारोहमा समावेश हुने भारतीय प्रधानमन्त्रीको निम्ता स्वीकार गरेका थिए।”

इस्लामावादमा आउँदो सोमवार हुन लागेको दुई देशका उच्च कुटनीतिज्ञबीचको वार्तालाई दुई छिमेकीबीचको सम्बन्ध सुधारको संकतेको रुपमा हेरिएको थियो।

छद्म युद्ध

पृथकतावादी संगठन जम्मु कश्मिर लेवरेशन फ्रन्टका नेता यासीन मलिकले कश्मीरी जनताको अपेक्षामा भारतले पानी खन्याइ दिएको प्रतिकृया दिएका छन्।

उनले बीबीसीलाई भने, “नरेन्द्र मोदीले यो निर्णय गरेर उनी कश्मीर मामिला वार्ताबाट सुल्झाउने मनस्थितिमा छैनन भन्ने कुरा प्रष्ट पारिदिएका छन्।”

वार्ता प्रधानमन्त्री मोदीले आफ्नो सपथ ग्रहण समारोहमा पाकिस्तानी समकक्षीलाई आमन्त्रित गरेपछि निश्चित गरिएको बताइएको छ।

अघिल्लो साता मोदीले पाकिस्तानले कश्मीरमा भारत बिरुद्ध छद्म युद्ध गरिरहेको आरोप पनि लगाएका थिए।