पहिरोपछि ३५ सय कन्टेनर सामान अलपत्र

सुनकोशी नदी थुनिएर अरनिको राजमार्ग अवरुद्ध हुँदा चीनबाट दसैँका निम्ति काठमाडौं भित्र्याउन तयार पारिएका झन्डै ३५ सय कन्टेनर वैकल्पिक बाटोबाट राजधानी ल्याउन नसकिने व्यवसायीहरुले बताएका छन्।
त्यसका लागि सरकारले ठूला गाडी आउने सक्ने गरी लामोसाँघुबाट वैकल्पिक बाटो एकसाता भित्र बनाइसक्ने बताएको छ।
तर, व्यापारीहरुले दसैँ अगाडि सामान ल्याउन त्यो बाटो चलनमा आउन सम्भव नहुने बताएका छन्।
सिन्धुपाल्चोकको जुरे भन्ने ठाउँमा गएको पहिरोका कारण झन्डै डेढ किलोमिटर सडक अवरुद्ध भएको छ।
विकल्प
त्यसले चीनसँगको मुख्य नाका खासाहुँदै काठमाडौं भित्रिने कपडालगायत अन्य सामग्रीभित्र्याउन सरकारले लामोसाँघुबाट बार्हविस्से निस्कने बाटो खोल्ने काम सेनाको सहयोगमा गरिरहेको बताएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली भन्छन्, "सामान ढुवानीका लागि लामोसाँघुबाट बाह्रविस्से निस्कने ठूलो बाटो सेनाको सहयोगमा भदौ २५ गतेसम्म बन्छ।" खासामा मात्रै अहिले करिब ६ सय कन्टेनरमा सामान काठमाडौं ल्याउन तयार पारिएको र अन्य करिब ३ हजार कन्टेनर सामान त्यहाँ आइपुगेको ब्यापारीहरुले बताएका छन्।
ती सामान ल्याउन सेनाले सुरु गरेको बाटोबाट सम्भव नहुने नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्ष निलकण्ठ चौलागाइँले बताए।
अव्यवहारिक
सरकारले बनाउने भनेको बाटोबाट ठूला गाडी ल्याउन तत्काल सम्भव छैन्, अहिले पहिरो गएकै बाटोनजिक अर्कोबाटो बनाउनुपर्छ।
उनले भने, "सरकारले बनाउने भनेको बाटोबाट ठूला गाडी ल्याउन तत्काल सम्भव छैन, त्यसको लागि अहिले पहिरो गएकै बाटोनजिक अर्कोबाटो बनाउनुपर्छ, नत्र दसैँअघि सामान आउन सम्भव छैन।"
तर सरकारले भने सुनकोशी पुरिएर बनेको तालमा अहिले झण्डै ८ सय क्यूसेक पानी जमेकोले त्यसलाई निकासी गर्दा तल्लो तटका बासिन्दालाई क्षति गर्ने जनाएको छ।
सबैभन्दा बढी सामान भित्रिने चाडबाडको समयमा बाटो अवरुद्ध हुँदा दैनिक झन्डै ३ देखि ५ करोड रुपैँयासम्म राजस्व घाटा भइरहेको बताइएको छ।
सरकारले यसअघि साना गाडी चल्ने बाटो लामोसाँघूबाट जिरी हुँदै निस्कने बाटो खोलेको थियो।
तर त्यो त्यहाँका बासिन्दालाई दैनिक उपभोग्य सामान लैजानका लागि उपयोगी बनेको छ।