लुहान्स्कका सडकमा सेना-पृथकतावादी भीडन्त

  • 19 अगस्ट 2014
लुहान्स्क
Image caption करिव दुई लाख पचास हजार मानिसहरु पानी र बिजुलीको सुविधाबाट बञ्चित भएको बताइएको छ

युक्रेनी अधिकारीहरुको भनाइमा सेनाले शहरको कम्तीमा एक भागमाथि पुन: आफ्नो नियन्त्रण कायम गरेको छ।

त्यो भाग पुर्वी युक्रेनमा विद्रोहीहरुको पकड भएको क्षेत्र हो।

तर त्यो समाचारको स्वतन्त्र रुपमा पुष्टी भइसकेको छैन।

बीबीसीका एक सम्वाददाता भन्छन् यदि युक्रेनी फौज लुहान्स्कमा विद्रोही नियन्त्रित एक क्षेत्र आफ्नो नियन्त्रणमा लिन सफल भएको खबर साँचो हो भने त्यसलाई विद्रोही परास्त गर्न थालिएको चार महिना यताकै महत्वपूर्ण सफलता मानिनेछ।

संकट

तर यहि बेला युक्रेनको मानवीय संकट गहिरिंदो छ।

करिव दुई लाख पचास हजार मानिसहरु पानी र बिजुलीको सुविधाबाट बञ्चित भएको बताइएको छ र त्यहाँ खाद्यान्न तथा औषधीको आपूर्ती घटिरहेको छ।

अर्कोतिर सोमबार लुहान्स नजिकै शरणार्थीहरु सवार गाडीहरुमा भएको आक्रमण पछि बाच्न सफल भएका व्यक्तिहरुको भिडिओ सार्वजनिक गरिएको दाबी युक्रेनी सरकारले गरेको छ।

त्यस्मा एक व्यक्तिले आफ्नी सासु तत्कालै मारिएको र आफ्नी छोरीको रक्तस्रावको कारण ज्यान गएको बताएका छन्।

अर्को व्यक्ति ती सवारी साधनमा सेता झण्डा फहराइएको बताउँछन्।

भिषण लडाइँ

आक्रणमण भएको स्थलबाट १५ वटा शवहरु फेला परेका छन् तर भिषण लडाइँका कारण त्यसबारेको अनुसन्धान प्रभावित भएको छ।

युक्रेनी सेनाले त्यो आक्रमणको दोष पृथकतावादीहरुलाई लगाएको छ।

तर पृथकतावादीहरुले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेका छन्।

युरोपेली आयोगका प्रमुख जोसे म्यानुएल बरोसोले युक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोसँग टेलिफोनमा कुराकानी गर्दै सो आक्रमणको भर्त्सना गरेका छन्।