'मलेसियासँग कामदारको सुविधा खोजिने'

  • 20 अगस्ट 2014
तस्वीर कपीराइट other
Image caption मलेसियामा नेपाली कामदार जान थालेको १४ वर्ष भए पनि दुइ देशबीच अहिलेसम्म श्रम सम्झौता भएको छैन।

नेपाली कामदारको प्रमुख गन्तब्यमध्ये एक मलेसियासँग घरेलु कामदार पनि पठाउने गरी संझौता हुनसक्ने श्रम मन्त्रालयले जनाएको छ।

नेपाल भ्रमणमा आएका मलेसियाका मानव संशाधन मन्त्री दातुक रिचार्ड रियट जाइम संग बिहीबार उक्त सम्झौताको मस्यौदाका विषयमा थप छलफल गरिने अधिकारीहरुले बताइएको छ।

त्यसबाहेक अवैध रुपमा मलेसियामा रहेका डेढ लाख नेपाली कामदारलाई सुरक्षित फिर्ता गर्ने विषयमा पछि छलफल हुने बताइएको छ।

सात लाख भन्दा बढी नेपाली कामदार रहेको मलेसियामा विशेषगरि महिला घरेलु कामदारहरु जाने गरि श्रम सम्झौता गर्नका लागि आज थप छलफल गर्ने बताइएको छ।

प्रस्ताव

सरकारले नेपालबाट घरेलु कामका लागि ३० वर्ष भन्दा कम उमेरकालाई वैदेशिक रोजगारमा जान दिंदैन।

तर ३० वर्षभन्दा बढी उमेरका महिलाहरुलाई चाहीं संयुक्त अरब इमिरेट्स र कुवेतमा मात्रै जान दिने नियम बनाइएको छ।

अब चाहीं सरकारले मलेसियामा उमेर हदलाई परिमार्जन गर्ने गरी पठाउन सकिने प्रस्ताव राख्न लागेको श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङले बताएका छन्।

उनी भन्छन्, “मलेसियाको मन्त्रीको विशेष चासो छ घरेलु कामदारको विषयमा, हामीहरु उनीहरुको सेवा सुविधा र सुरक्षाका विषयमा प्रस्ताव राख्छौं।”

त्यसबाहेक मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका झन्डै करिब डेढ लाख नेपाली कामदारहरुलाई फिर्ता गर्ने विषयमा पनि छलफल केन्द्रित हुने बताइएको छ।

सम्झौता

कामदारको सेवा सुविधा र अलपत्र परेकाहरुको उद्धारका लागि प्रस्ताव गरिने मन्त्री गुरुङ बताउँछन्।

उनले भने, “विभिन्न अलपत्र परेका कामदारहरु उतै बस्ने हुन् की यहाँ फर्कने हुन् त्यो बुझेर उद्धार गर्ने विषयमा हामी कुरा राख्छौं।”

नेपालले श्रम सम्झौताका लागि मलेसिया सरकारलाई ३ महिना अघि नै मस्यौदा पठाएको थियो।

यी प्रस्तावमा छलफल गरेपछि सरकारले बढीमा अबको दुईमहिनाभित्र मलेसियासँग सम्झौता गरिसक्ने उनले बताए।

मलेसियामा कामदारहरु जान थालेको १४ वर्ष भइसके पनि अहिलेसम्म दुइ देशबीच श्रम सम्झौता हुनसकेको छैन।