मलेसियासँग श्रम सम्झौता गर्न कार्यदल

  • 21 अगस्ट 2014
तस्वीर कपीराइट other
Image caption मलेसियामा नेपाली कामदारहरु सात लाख भन्दा बढी रहेको बताइन्छ

मलेसियामा १४ वर्ष यता नेपालबाट साधारण कामदार मात्रै गइरहेको बेला दुबै देशले अब घरेलु कामदार जाने गरि सम्झौता गर्न सहमति जनाउँदै एउटा उच्चस्तरीय कार्यदल बनाउने भएका छन्।

सात लाख भन्दा बढी नेपाली कामदार रहेको मलेसियासंग सम्झौतापछि घरेलु कामदारका रुपमा महिला र पुरुष दुबै जानसक्ने बताइएको छ।

छिट्टै हुने भनिएको यो सम्झौतापछि अन्य खाडी मुलुकमा पुगेका कामदार पनि आकर्षित हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन्।

नेपाल भ्रमणमा आएका मलेसियाका मानव संशाधन मन्त्री दातुक रिचार्ड रियट जाइमसंगको छलफल नेपालीहरु घरेलु कामका लागि पनि मलेसिया जान सकिने विषयमा केन्द्रित भएको अधिकारीहरुले बताएका छन्।

सहमति

दुइ देशबीच श्रम सम्झौताका लागि यसअघि नेपालले मलेसियामा मस्यौदा पठाइसकेको भए पनि घरेलु कामदारको सेवा, सुविधाका विषयमा थप छलफल गर्न मन्त्री रिचार्ड बुधबार नेपाल आएका थिए।

त्यही मौकामा दुई देशबीच सहसचिव स्तरीय कार्यदल बनाएर छिट्टै सम्झौता गर्ने सहमति भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए।

उनले भने, “अब दुई देशका सहसचिव स्तरीय एउटा कार्यदलले अध्ययन गरी छिट्टै सम्झौता गर्ने कुरा भएको छ।”

त्यस्तो कार्यदलले मलेसियाले अन्य देशहरुसँग गरेको श्रम सम्झौताको अध्ययन गर्नेछ।

इच्छुक

मलेसियासँग सम्झौता भए नेपाली कामदारहरुलाई सरकारले यहीँ तालिम दिएर अन्य खाडी मुलुकको दाँजोमा राम्रो पारिश्रमिक समेत उपलब्ध हुँदा त्यसले अन्य देशका नेपाली कामदारहरुलाइ पनि आकर्षित गर्ने राज्यमन्त्री गुरुङले बताए।

उनले भने, “मलेसियाको वातावरण हाम्रोसँग धेरै मिल्छ अनि पारिश्रमिक पनि झन्डै २७/२८ हजार रुपैँया हुन्छ र त्यहाँको कानुन खाडी मुलुकहरुमा भन्दा राम्रो छ त्यसैले यो सम्झौतापछि नेपाली कामदारहरु धेरै जान खोज्ने हामीले अनुमान गरेका छौं।”

मानव संशाधन मन्त्रीले बिहीबार प्रधानमन्त्री सुशिल कोइरालासँग भेट गरि नेपाली कामदारहरु काममा मिहेनती र आज्ञाकारी हुने भएकोले जनशक्ति लिन आफूहरु इच्छुक भएको बताएका थिए।