बाढीले मध्यपश्चिममा जनजीवन अझै अस्तव्यस्त

  • 21 अगस्ट 2014
Image caption मध्यपश्चिमका ४ जिल्लामा गएको बाढीले त्यहाँ विभिन्न रोग देखिन थालको बताइएको छ।

पश्चिम नेपालमा एक साता अघि आएको बाढी पहिरोबाट सबै भन्दा बढी जनधनको क्षति भएको सुर्खेत जिल्लाको जनजीवन अझै सामान्य बन्न सकेको छैन।

यातायात र विद्युत सेवा आंशिक रुपमा शुरु भए पनि अवरुद्ध रहेको खानेपानी शुचारु भएको छैन।

राहत वितरणको काम शुरु भएपनि पीडितहरुले गुनासोमा कमी आएको छैन।

विस्थापित भएर विभिन्न शिबिरहरुमा बसिरहेका उनीहरुले सरकारले दिएको चामल पकाएर खाने भाँडाकुडी समेत नभएको बताएका छन्।

विस्थापितहरु भएको शिविरहरुमा अहिले भाईरल ज्वरोको प्रकोप समेत देखिन थालेको बताइएको छ।

नेपालगञ्ज देखि सुर्खेत जोड्ने रत्न राजमार्गको ५० भन्दा वढी ठाँउमा आएको पहिरो पन्छाएर यातायात सेवा सुरु भए पनि बेलाबेला अवरोध हुँदै आएको छ।

हाहाकार

अवरुद्ध विद्युत सेवा जिल्लाका केही ठाँउमा मात्र सुरु भएको छ। झुप्रा विद्युत खानेपानी आयोजना भत्किँदा पानीको हाहाकार जस्तै भएको छ।

पानीको आपूर्तिलाई सहज बनाउन प्रयास जारी रहेको अधिकारीहरुले वताएका छन्।

शिविरमा बसेका विस्थापितहरुले पानीको अभावमा फोहर पानी खानुपरेको गुनासो गरेका छन्।

हातमा पानी सफा गर्ने चक्की भए पनि भाँडाको अभावमा प्रयोग गर्न नपाएको उनीहरुले बताए।

कसैको घर भत्काएको छ त कसैको घर खोलाले बगाएर लगेको छ ।

तर ती सबैको पीडा भने साझा छन्।

घर भत्किएकी लाटीकोइली पर्सेनी की विष्णु शाहीले भनिन्, “खाने गाँस छैन बस्ने बास छैन। मन आँत्तिन्छ। सरकारले केही अग्लो ठाँउमा बस्ने व्यवस्था गरिदिए हुन्थ्यो।“

अन्यौल

विद्यालयमा बसेका उनीहरुलाई विद्यालय सञ्चालन हुन थालेपछि छोड्नु पर्ने बाध्यता आइलाग्ने छ ।

त्यो छोडेर कहाँ जाने भन्ने पिरोलोले सताउन थालिसकेको उनीहरु बताउछन्।

हस्त वीर प्राथमिक विद्यालय नेवारेको शिविरमा बस्ने कमला जैशीले भनिन्, “विद्यालयको शिविरहरुमा ८ दिनका लागि बस्नदिएका हुन्, ५ दिन बितिसक्यो अब कहाँ जाने हो अन्यौलमा छौँ। दिमागले नै काम गर्दैन।“

एउटा परिवारका लागि एउटा कम्मल वितरण गरिएको छ ।

स्कूलको सिमेन्टको भुइँमा सुत्न परेका कारण धरै जसो वालवालिकाहरु भाइरल जरोले लखतरान परेको देखिन्छन्। पुरै गाँउमा बाढी पसेर धेरैको घर भत्तिएको र भएका घरहरु पनि जीर्ण जस्तै बनेको पर्सेनीको गाँउमा त्यो दिनको त्रासले छोडेको छैन ।

उनीहरु गाँउ नै सार्ने माग गरिरहेका छन्।

समन्वयको कामलाई अगाडि बढाएर रेडक्रस मार्फत राहत वितरण सुरु भएको छ।

राजमार्ग सञ्चालनमा आइसकेकोले आउनु पर्ने राहत सामाग्रीहरु छिट्टै आइपुग्ने सरकारी भनाई रहे पनि पीडितहरु आश्वस्त हुन भने सकिरहेका देखिदैनन्।