अमेरिकाद्वारा उत्तरी इराकमा थप आक्रमण

  • 21 अगस्ट 2014
तस्वीर कपीराइट Reuters
Image caption विद्रोहीविरुद्ध अमेरिकी हवाइ आक्रमणका कारण कुर्द र इराकी फौजले सफलता पाइरहेको बताइएको छ

संयुक्त राज्य अमेरिकाले उत्तरी इराकमा कुर्द र इराकी फौजसँग संघर्षरत इस्लामिक स्टेट विद्रोहीहरुविरुद्ध थप हवाइ आक्रमण शुरु गरेको अधिकारीहरुले बताएका छन्।

आफूहरुमाथि थप आक्रमण गरे बन्धक बनाइएका अर्का एक अमेरिकी नागरिकको बदलास्वरुप हत्या गर्ने विद्रोहीहरुको चेतावनीमाझ अमेरिकाले थप हवाईइआक्रमण थालेको बताइएको छ।

अन्तर्राष्ट्रिय समुदायलाई आक्रोशित तुल्याउने गरी एकजना अमेरिकी पत्रकारको हत्या गरिएको भनिएको भिडियो विद्रोहीहरुले सार्वजनिक गरेको एक दिनपछि अमेरिकाले आक्रमण शुरु गरेको हो।

इराकको मोसुल सहर नजिकै इस्लामिक स्टेट विद्रोहीहरुसँग लडाईं गरिरहेका कुर्द र इराकी फौजलाई अमेरिकी नौसैनिक तथा मानवरहित विमान ड्रोनले हवाई सुरक्षा दिएको बताइएको छ।

सन् २०१२ देखि हराइरहेका पत्रकार जेम्स फोलिको टाउको काटेर हत्या गरेको भनिएको भिडियो विद्रोहीहरुले मंगलबार सार्वजनिक गरेका थिए।

आक्रमण

उक्त भिडियोमा उनीहरुले बन्धक बनाइएका अर्का एक अमेरिकी पत्रकारको पनि हत्या गर्ने चेतावनी दिएका थिए।

तर उक्त भिडियो सार्वजनिक गरेयता अमेरिकी फौजले मोसुल बाँध नजिक १४ वटा नयाँ हवाइ आक्रमण गरेको अधिकारीहरुले बताएका छन्।

विद्रोहीहरुले यसैसाताको शुरुतिर उक्त बाँधमाथि कब्जा जमाएका थिए।

अमेरिकी आक्रमणले हवाइ सुरक्षा दिएपछि कुर्द र इराकी फौज दक्षिण-पश्चिमी पहाडी क्षेत्रतर्फ बढेको कुर्द स्रोतहरुले जनाएका छन्।

अमेरिको राष्ट्रपति बाराक ओबामाले भने, “संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरुको रक्षा गरिरहनेछ अथवा गर्नैपर्छ। हामीले निगरानी गरिरहनेछौं। जब कतैपनि अमेरिकी नागरिकलाई असर पुर्याइनेछ, न्यायका लागि हामी आवश्यक सबै कार्य गर्छौं। अरुहरुसँग मिलेर हामी विद्रोहीहरुविरुद्ध कारवाही गर्छौं।”

विद्रोहीहरुका गाडी लगायतका सामाग्रीहरु ध्वस्त पारेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

बन्धक

सिरिया र इराकको ठूलो भू-भागमाथि कब्जा जमाईरहेका विद्रोहीहरुमाथि अमेरिकाले अगस्त ८ तारिखदेखि आक्रमण गर्दै आएको छ।

ओबामाले बुधबार पत्रकार फोलिको हत्यालाई समग्र विश्वको विवेकलाई स्तब्ध पार्ने हिंसात्मक कार्यको संज्ञा दिए।

पेन्टागनले सिरियामा बन्धक बनाइएका अमेरिकी नागरिकहरुलाई मुक्त गराउन हालै उद्धार कारवाही गरेको बताएको छ।

त्यसका लागि हवाइ र स्थलगत कारवाही गरिएको उसले जनाएको छ।

तर कारवाहीका बेला बन्धक बनाइएका मानिसहरु फेला नपरेकाले दुर्भाग्यवश त्यो विफल भएको पेन्टागनको भनाइ छ।