आईएस अलकायदा भन्दा खतरनाक: अमेरिका

  • 22 अगस्ट 2014
तस्वीर कपीराइट Reuters
Image caption अमेरिकाको न्याय मन्त्रालयले पत्रकार फोलीको हत्याको अनुसन्धान शुरु गरेको जनाएको छ

इराकमा जारी अमेरिकी हवाई आक्रमणले इस्लामिक स्टेट (आइएस) जिहादी संगठनलाई केही धक्का लागेपनि उक्त समूह अलकायदा भन्दा बढी खतरनाक हुनसक्ने चुनौती रहेको अमेरिकी सैन्य नेताहरुले बताएका छन्।

इराकमा जारी कार्वाहीको बिरोधमा सो संगठनले एकजना अमेरिकी पत्रकारको नृशंस हत्या गरेको सन्दर्भमा वरिष्ठ अमेरिकी अधिकारीहरुको त्यस्तो धारणा आएको हो।

अमेरिकी न्याय मन्त्रालयले पत्रकार जेम्स फोलीको हत्याको औपचारिक अनुसन्धान सुरु गरेको छ।

वरिष्ठ अमेरिकी रक्षा अधिकारीहरुले क्षेत्रीय संगठन निर्माण गर्दै उक्त उग्रवादी संगठनलाई सिरिया र इराक दुवै ठाउँबाट पराजित गर्नुपर्ने बताएको छ।

चुनौती

रक्षामन्त्री चक हेगलले अमेरिकी हवाई आक्रमणले इस्लामवादी उग्रवादीहरुलाई अघि बढ्नबाट रोकेको तर तिनीहरु पुन: एकत्रित भएर प्रत्याक्रमण गर्ने जोखिम बाँकी नै रहेको बताए।

कब्जामा लिइएका एकजना अमेरिकी पत्रकारको टाउको काटेर हत्या गरिएको भिडियो सार्वजनिक गर्ने उक्त संगठनप्रति सर्तक हुनुपर्ने पनि उनले बताए।

पछिल्लो समयमा अमेरिकाले भोगेको सबैभन्दा ठूलो खतराका इस्लामिक स्टेट रहेको भन्दै उनले तिनीहरुबाट दीर्घकालीन चुनौती रहेको बताए।

उनले भने, “उनीहरु सामान्य आतंककारी समूह भन्दा धेरै माथि छन्, उनीहरुले निक्कै धेरै आर्थिक सहयोग पाएका छन् अनि रणनीतिक र समारिक सैन्य खुबिलाई मिलाएका छन् जुन अहिलेसम्म हामीले देखेको मध्ये घातक हो।”

लडाँई

अमेरिकी सैन्य बलका सबैभन्दा उच्च जनरल मार्टीन डेम्पसीले उग्रवादीहरुलाई केही समयको लागि घेराबन्दीमा पार्न सकिएपनि सिरियामा रहेको उनीहरुको गढमा आक्रमण नगरेसम्म हराउन नसकिने बताएका छन्।

सुन्नी समुदायले उक्त संगठनको मान्यतालाई अस्वीकार गर्नुको साथै क्षेत्रिय शक्तीहरुले लडाईंमा साथ दिएमात्र उनीहरुलाई पराजित गर्न सकिने उनको भनाई छ।

दुवै अधिकारीहरुले राष्ट्रपति ओबामाले घोषणा गरेको सिमित सैन्य अभियानको नीतिमा परिवर्तन भएको कुनै संकेत दिएनन्।

तर उनीहरुले इराक वा सिरिया दुवै स्थानमा इस्लामिक स्टेट बिरुद्ध थप कारवाही गर्न सकिने कुरालाई अस्वीकार गरेका छैनन्।