अझै राहत नपाएको बाढीपीडितको गुनासो

  • 23 अगस्ट 2014
Image caption डुबान क्षेत्रमा सफा खानेपानीको अभावका कारण पानीजन्य रोगव्याधी फैलने खतरा पनि कायमै छ।

पश्चिम नेपालको बर्दियामा गत साउन २९ गतेको बाढीबाट प्रत्यक्ष प्रभावित भएका मानिसहरुले आफूहरुले अझै पनि पर्याप्त खानेकुरा र अन्य अत्यावश्यक राहत समाग्री पाउन नसकेको दुखेसो पोखेका छन्।

बबइ नदीमा आएको बाढी र डुबानको चपेटामा परेको बर्दियाको बानियाभार क्षेत्र अहिले लगभग सुख्खा भइसकेको छ।

पूर्व पश्चिम राजमार्गलाई समेत क्षति पु-याउने गरी बढेको बबइ पनि सामान्य अवस्थामा फर्किन थालिसकेको छ।

तर भत्किएका घरका भग्नावशेषहरुमा पीडित परिवारहरु राहतको पर्खाइमा बसिरहेका भेटिन्छन्।

बबइ नदीको भेलमा आफ्नो घर गोठ र अमूल्य सम्पत्ती गुमाएका अन्तराम चौधरीको परिवारले थोरै राहत त पाएको छ, तर उनको माग छ सरकार र सहयोगी हातहरुले अझै धेरै गर्नु पर्छ।

उनले भने, "सरकारले अब सुरक्षित शिविरको तत्काल व्यवस्था गरेर हामीलाई त्यहाँ राखे हामी केही दिनलाई सुरक्षित महसुस गर्ने थियौं।"

अभाव

उनकै एकजना नातेदार शान्ता चौधरीको पनि सबथोक बाढीले बगाइदियो।

उनले भनिन्, "अब राहत सँगै औषधीको पनि अभाव छ। रुघाखोकी लाग्ने, टाउको दुखेको, छालामा पनि खटिरा आएको छ। औषधी चाहिएको छ।"

बबइ नदीले बितण्डा मच्याएको बर्दियामा थुप्रै बाढीपीडितहरु प्रदूषित पानी पिउन वाध्य छन्।

साउन २९ गतेको बाढीले यो समथल तराइको जिल्लामा ३० जना भन्दा बढीको ज्यान लिइदियो र करीब १५ जना अझै हराइरहेको स्थानीय अधिकारीहरुको भनाइ छ।

राहत वितरणको काम अघि बढिरहेको त छ, तर पीडितहरुको चिन्ता र त्रास हटेको छैन।

गुनासो

बानियाभारमा शनिबार दिउँसो चामल थाप्न आएकी निमा बुढा क्षेत्रीले भनिन्, "लोग्ने भारतमा हुनुहुन्छ, छोराछोरी पनि घरमा बस्दैनन्। बाख्राको पीरले मात्रै त्यहाँ बसिरहेकी छु।"

बाढीका कारण बर्दियामा मात्र करीब ८ हजार परिवार विस्थापित भएको अधिकारीहरुको अनुमान छ।

उनीहरुलाई नजिकैका विद्यालय वा सामुदायिक भवनमा राखिएको छ।

त्रिपाल वितरणको काम शुरु हुन लागेको छ।

बाढीमा आफ्ना परिवारजन र धन गुमाएका पीडितहरुको आवश्यकताको सूची लामो छ।

ती आवश्यकता पुरा गर्न अहिले राहतको काममा जुटेका स्थानीय अधिकारी र रेडक्रसका कार्यकर्ताहरुलाई हम्मे हम्मे परिरहेको छ।