युक्रेनबाट रुसी ट्रकहरु फिर्ता

  • 23 अगस्ट 2014
ukraine तस्वीर कपीराइट AFP
Image caption रुसी ट्रकहरु प्रवेश गर्दै गर्दा सिमानामा एक जना स्थानीयवासी रुसी झण्डा हल्लाउंदै

विद्रोही नियन्त्रित पूर्वी युक्रेनमा अनुमति विना प्रवेश गरेका दुईसयभन्दा बढी रुसी ट्रकहरु रुस फर्किएको युरोपेली अनुगमनकर्ताहरुले बताएका छन्।

मस्कोले ती ट्रकहरुमा मानवीय सहायताका लागि आवश्यक सामाग्रीहरु रहेको बताएपनि पश्चिमा शक्तिहरुले त्यसलाई युक्रेनमा थप सैन्य हस्तक्षेप गर्ने रुसको वहानाका रुपमा व्याख्या गरेका छन्।

‘हस्तक्षेप’

पश्चिमा शक्तिहरुले समर्थन गरेको कियभस्थित युक्रेनी सरकारले पनि ती रुसी ट्रकहरुको प्रवेशलाई आफ्नो सार्वभौमसत्तामाथिको ठाडो हस्तक्षेप भनेको छ।

तर मस्कोले सबै २२७ वटा ट्रकहरु पठाउनुको कारण विशुद्ध रुपमा मानवीय भएको बताएको छ।

अहिले ती ट्रकहरु रुस फर्किसकेको युरोपेली पर्यवेक्षकहरुले पुष्टि गरेका छन्।

तर तीमध्ये पहिलो ३७ वटाको मात्रै रेडक्रसले निरीक्षण गरेको युरोपेली सुरक्षा तथा सहयोग संगठन ओएससीइका पर्यवेक्षक पउल पिकार्डले बताए।

प्रतिदावी

प्रवेश अनुमतिका लागि रुस, युक्रेनी सरकार र रेडक्रसबीच सहमतिको प्रयास भइरहंदा ती ट्रकहरु एकहप्तादेखि नै सिमानामा कुरेर बसिरहेको बताइएको छ।

तस्वीर कपीराइट president.gov.ua
Image caption पोरोशेन्कोसंगको भेटपछि मर्केलले ठूलो ऋण राशीको घोषणा गरेकी छिन्

तर रुस समर्थक पृथकतावादीहरुको पकड रहेको पूर्वी युक्रेनमा मानवीय अवस्था दयनीय बन्दै गइरहेकाले सहमति नकुरिकनै ट्रकहरु पठाउनुपरेको रुसले बताएको छ।

शान्ति

यही पछिल्लो तनावबीच जर्मनीकी चान्सलर एंगेला मर्केल युक्रेन पुगेकी छिन्।

उनले युक्रेन र रुसबीचको सिमानाको राम्रो अनुगमन गर्ने सहमति नभएसम्म उक्त क्षेत्रमा दीगो शान्ति सम्भव नहुने बताइन्।

कियभमा युक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोसंग भेटेकी मर्केलले ५० करोड युरो ऋण सहायताको घोषणा गर्दै उक्त रकम युक्रेनको ध्वस्त संरचना निर्माणका लागि प्रयोग हुने बताइन्।