अर्को नरसंहारको खतरा : राष्ट्र संघ

  • 24 अगस्ट 2014
तस्वीर कपीराइट Reuters
Image caption उत्तरी इराकको अमेरली शहरका अल्पसंख्यक वासिन्दा नरसंहारको खतरामा परेको राष्ट्र संघले जनाएको छ

इराकस्थित संयुक्त राष्ट्र संघीय अधिकारीहरुले इश्लामिक स्टेट लडाकुहरुको कब्जामा रहेको अमेरली शहरमा अर्को नरसंहार हुनसक्ने चेतावनी दिएका छन्।

इराकका लागि राष्ट्र संघीय विशेष प्रतिनिधिले अमेरली शहरमा अठार हजार जति बासिन्दाहरु व्यक्त गर्नै नसकिने परिस्थितिमा परेको बताएका छन्।

इश्लाम धर्मको जिहादी उग्रवादी विश्लेषणसँग सहमत नहुनेलाई जिहादीहरुले अन्यत्र झैं यो शहरका बासिन्दाको पनि सामुहिक नरसंहार गर्नेहुन् कि भनेर चिन्ता व्यक्त गरिएको छ।

राष्ट्र संघले इराकको उत्तरी अमेरली शहरको संभावित नरसंहार रोक्न गर्न आग्रह गरेको छ।

अभावक़

विशेष प्रतिनिधि निकोले म्लाडेनोभले अमेरली शहरका बासिन्दाको परिस्थितिबाट आफु गम्भीर भएको बताएका छन्।

दुइ महिनादेखि इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अमेरली शहरमा खानेपानी,बिजुली छैन। खाद्यान्न र औषधीको पनि अभाव हुन थालेको छ।

कुर्दिश राजधानी इरवीलबाट बीबीसी संवाददाता पल मस भन्छन्,"आइएसले एक गाउँपछि अर्को गाउँमा आक्रमण गरिरहेको जस्तो देखिन्छ। गाउँका मानिसहरु पनि अमरेली शहरतिर आएका छन्। किसानहरु आफ्नो खेतमा जान पाएका छैनन्। पानी खाद्यान्न र औषधी सकिँदै गएको बताइएको छ। र अपुष्ट खबरमा एक सय पचहत्तर जनाको ज्यान गइसकेको छ।"

शहरवासीले विद्रोहीहरु विरुद्ध आफ्नै समुह बनाएर प्रतिरोध गरेको र आइएसले नियन्त्रणमा लिएपछि अहिलेसम्म कुनै वैदेशिक सहयोग आफुकहाँ नआएको बताएका छन्।

अमेरलीका एक बासिन्दा डा. अली अलबयातीले भने, "हामीसँग पुग्दो खाद्यान्न छैन किनभने शहर कब्जा गरिएको छ र यो शहर छोड्ने उपाय पनि छैन।"

संभावित नरसंहार

म्लाडेनोभले विज्ञप्तीमा भनेका छन् “अमेरलीमा मानिसहरुको स्थिति खतरनाक छ । त्यहाँको नागरिकको संभावित नरसंहार रोक्न तत्काल कारवाही गरिनुपर्छ।"

शुक्रबार इराकका सबभन्दा प्रभावशाली शिया धर्मगुरु आयतल्ला अली अल सिस्तानीले अमेरलीका बासिन्दाको परिस्थितिप्रति चासो व्यक्त गरेका थिए।

आइएसले पछिल्ला महिनामा इराक र सिरियाको ठूलो भूभाग नियन्त्रणमा लिएको छ।

अगष्ट ८ यता अमेरिकाले विद्रोही तह लगाउन इराकी र कुर्दिश फौजको समर्थनमा ९४ वटा हवाइ कारवाही गरेको छ