बन्धक अमेरिकी पत्रकार रिहा

  • 25 अगस्ट 2014
तस्वीर कपीराइट AP
Image caption थिओ कर्टिसको रिहाइको अमेरिकी विदेशमन्त्रीले स्वागत गरेका छन्

एउटा जिहादी संगठनबाट दुई बर्षअघि बन्धक बनाइएका एकजना अमेरिकी पत्रकार सिरियामा रिहा भएका छन्।

सन् २०१२ मा सिरिया प्रवेश गर्न लाग्दा टर्कीबाट अपहरित भएका पिटर थिओ कर्टिसलाई गोलन हाइट्समा राष्ट्रसंघीय शान्ति सैनिकहरु समक्ष बुझाइएको हो।

अमेरिकी विदेशमन्त्री जोन केरीले रिहाई र उनी घर फर्कन लागेकोमा प्रसन्नता व्यक्त गरेका छन्।

सिरिया सरकारसँग लड्दै आएको जिहादी संगठन अल नुसरा फ्रन्टले उनलाई कब्जामा लिएको थियो।

स्वागत

पत्रकार थिओको अपहरण सिरियाली सरकारसँग लड्दै आएको अल नुसरा फ्रन्टले गरेको थियो।

उक्त संगठन अघिल्लो हप्ता अमेरिकी पत्रकार जेम्स फोलीको टाउको काटेर हत्या गर्ने इस्लामीक स्टेटको विपक्षमा उभिदैँ आएको छ।

आइतबार एउटा वक्त्व्यमा अमेरिकी विदेशमन्त्री जोन केरीले अभिव्यक्त गर्न नसकिने एउटा दुखद घटनापछि भएको कर्टिसको रिहाईलाई सुखद समाचारका रुपमा चित्रण गरे।

उनका अनुसार अमेरिकाले उनको रिहाईको लागि दुई दर्जन देशहरुसँग मिलेर काम गरेको थियो।

अमेरिकाको म्यासाचुसेट्स राज्यका कर्टिसको रिहाईको लागि आफूले सहजकर्ताको भूमिका खेलेको संयुक्त राष्ट्रसंघले पुष्टी गरेको छ।

हस्तान्तरण

उनको प्रारम्भिक स्वास्थ जाँचपछि अमेरिकी प्रतिनिधिलाई बुझाइएको थियो।

एउटा वक्त्वय जारी गर्दै कर्टिसकी आमाले छोरालाई रिहा गर्न भूमिका खेलेकोमा अमेरिका र कतारलाई धन्यवाद दिएकी छन्।

हत्या गरिएका अमेरिकी पत्रकार फोलीको अन्त्येष्टी समारोह न्यु हेम्पसायरमा राज्यमा रहेको उनको गृह-शहरमा भैरहँदा अर्का बन्धक पत्रकारको रिहाईको खबर आएको हो।

फोली हत्याबारेको भिडियो अनुसन्धान गरिरहेका ब्रिटेनका गुप्तचर अधिकारीहरुले उनको हत्यामा संलग्न ब्रिटिश जिहादीको परिचय पत्ता लगाउने कुरामा निक्कै प्रगति भएको बताएका छन्।