प्रहरीद्वारा मारिएका अश्वेत किशोरको अन्त्यष्टी

  • 26 अगस्ट 2014
Image caption अन्त्यष्टीमा मिजूरी राज्यका गभर्नर अनुपस्थित थिए

गोरा जातीका प्रहरी अधिकारीको गोली प्रहारबाट अमेरिकाको मिजूरी राज्यमा मारिएका अश्वेत किशोर माइकल ब्राउनको अन्त्यष्टी समारोहमा सयौँ सहभागी भएका छन्।

सेन्ट लुइसको उपनगर फरगसनस्थित एउटा चर्चमा शोकमग्नहरुले १८ वर्षिय माइकल ब्राउनको सम्झनामा प्रार्थना गरेका थिए।

सडककोबीचमा हिडिरहेकाबेला गोरा प्रहरी अधिकारीले रोक्ने क्रममा गत ९ अगस्टमा उनी मारिएको बताइएको छ।

उनको मृत्युपछि फरगसन शहरमा कयौं दिन दंगा भड्किएको थियो र प्रहरी तथा प्रदर्शनकारीबीच झड्पहरु भएका थिए।

ज्यादती

सोमवार विहान फरगसनस्थिति फ्रेन्डली टेम्पल बेपटिस्ट चर्च बाहिर चर्को गर्मीका माझ सयौं मानिसको भीड थियो।

उनीहरु मध्ये केही मृतक ब्राउनका आफन्त थिए, केही साथी तर अधिकांश जसो ९ अगस्तभन्दा पहिले माइकल ब्राउनको नाम नसुनेकाहरु थिए।

अन्त्यष्टीका क्रममा उनका दुईवटा ठूला र बाल्यकालका साना फोटोहरु राखिएका थिए।

अश्वेत समुदायले उनको हत्यालाई बर्बर हत्याको संज्ञा दिएको छ।

अमेरिकामा उनले कुनै गल्ती गरेका थिए वा थिएनन् भन्ने भन्दा पनि काला जातीका समुदाय विरुद्ध बर्षौदेखि चलिरहेको भनिएको प्रहरी ज्यादतीबारे वहस भइरहेको छ।

चर्चामा माइकल ब्राउनका एकजना आफन्त एरिक डेविसले भने, “हामीले प्रशस्त पाशविक हत्या देख्यौं, हामीले हाम्रा भाई र बहिनीको हत्या धेरैदेखि सक्यौ, अव धेरै भयो भोट मार्फत समय बदल्न जरुरी छ।”

अमेरिकाका कयौं भागमा काला जातीका मानिसहरुले निकै कम मात्र मतदानमा भाग लिन्छन्।

बहस

अन्त्यष्टीमा सहभागी हुन राष्ट्रपति बराक ओबामाले तीनजना सहयोगीलाई पठाएका थिए तर मिजुरीका गभर्नर उपस्थिति थिएनन्।

केही साता अघि न्युयोर्कमा पनि प्रहरीबाटै अर्का काला जातिका मानिस मारिएका थिए।

तर अर्को सत्य के पनि हो भने गोली प्रहारबाट मारिने ९० प्रतिशत काला जातीका युवा प्रहरी हैन बरु आफ्नै समुदायका युवाद्वारा मारिन्छन्।

माइकल ब्राउनको सम्झनामा भेला भएका मानिसहरु सामू काला समुदायका एकजना नेता ऐल शार्पटनले पनि उक्त प्रसंग उठाएका थिए।

उनले भने, “हामीले एक अर्कालाई गर्ने व्यवहारप्रति पनि हामीलाई लाज लाग्नु पर्छ, हामीले एक अर्का विरुद्ध जसरी बन्दूकको निशाना लगाउँछौं, त्यसले पनि हामी विरुद्ध कारवाही गर्ने मौका दिन्छ।”

कतिपयले ब्राउनको हत्यापछि २१ शताब्दीमा जातीवादको वहसलाई फेरी सतहमा ल्याइदिएको ठानेका छन्।