गाजामा दीर्घकालीन संघर्षविरामको सहमति

  • 27 अगस्ट 2014
तस्वीर कपीराइट AFP GETTY
Image caption गाजामा पचास दिन लामो द्वन्द्वपछि दीर्घकालीन युद्धविराम शुरु भएको छ

इजरेल र प्यालेष्टीनी विद्रोहीबीच गाजा स्ट्रीपमा दीर्घकालीन संघर्षविराम गर्ने सहमति भएको छ।

मंगलबार स्थानीय समय साँझ ७ बजे शुरु भएको संघर्ष विराम इजिप्टको मध्यस्थतामा भएको हो।

द्वन्द्वमा २२ सय भन्दा बढिको ज्यान गएको थियो।

हमासले गाजावादीको 'बलियो प्रतिरोधको जित' भनेको छ।

इजरेली अधिकारीहरुले सहयोग र निर्माण सामग्रीका लागि गाजाको नाकाबन्दी खुला गरिने बताएका छन्।

स्वागत

प्यालेष्टीनी राष्ट्रपति महमुद अब्बासले राज्य नियन्त्रित टेलिभिजन मार्फत शान्तिवार्ताको स्वागत गरेका छन्।

इजरेली सरकारका प्रवक्ता मार्क रेजेभले भने युद्धविराम कायम हुन्छ भन्ने अपेक्षा राखौं भनेका छन्।

गाजामा रहेको विद्रोही समुहलाई निशस्त्र बनाउने लगायतका विवादास्पद विषयमा एक महिनाभित्रै कायरोमा अप्रत्यक्ष वार्ताहरु शुरु हुने बताइएको छ।

अमेरिकाले सहमतिको समर्थन गरेको छ।

चेतावनी

तर उनका प्रवक्ता मार्फत जारी गरिएको विज्ञप्तीमा मुनले द्वन्द्वको मुल कारण नखोतले संघर्षविराम हिंसाको अर्को चक्र शुरु गर्ने रंगमन्च मात्र बन्न पुग्ने चेतावनी दिएका छन्।

इजरेल र प्यालेष्टीनीहरुबीच लडाइ भइरहेकै बेला यो महत्वपूर्ण सहमति भएको छ।

सहमतिको अन्तिम समयतिर गाजाबाट हानिएको तोपबाट एकजना इजरेलीको मृत्यु भएको र छ जना घाइते भएको स्वास्थ्यअधिकारीहरुले बीबीसीलाई बताए।

मंगलबार सवेरै इजरेलले गरेको हवाइ कारवाहीमा परेर ६ जना प्यालेष्टीनीहरु मारिएको प्यालेष्टीनी अधिकारीहरुले बताए।

भावी छलफल

प्यालेष्टीनी अधिकारीहरुका अनुसार संघर्ष विराममा प्रस्तावमा हिंसाको अन्त्य इजरेल र इजीप्टसँगको गाजा सीमाना खुला र भूमध्यसागरीय क्षेत्रको माछा मार्ने क्षेत्र विस्तार गरिने लगायत छ।

एक महिनापछि इजरेल र प्यालेष्टीनी समुहहरुले बन्दरगाह र विमास्थल निर्माण तथा सय जना बन्दी रिहा गर्नेबारे छलफल गर्नेछन्।

इजरेल र इजीप्टले गाजामा हतियार तस्करी नहुने ग्यारेन्टी मागेको बताइएको छ।

गाजाका सडकहरुमा बन्दुक पडकाएर स्वागत गरिएको थियो तर दक्षिण इजरेललमा रकेटको चेतावनी दिने साइरन बजिरहेको बताइएको छ।