सुनकोसी नजिकै ‘धमाधम सडक निर्माण’

  • 27 अगस्ट 2014
सुनकोसी
Image caption सुनकोसीमा बनेको जलासयबाट करिव दुई मिटर पानी घटाउन सफलता मिलेको बताइएको छ

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार क्षतिग्रस्त राजमार्गमाथिबाट सडक खोल्ने काम शुरु भइसकेको छ र त्यो आगामी मंगलबारसम्म पुरा हुन सक्छ।

तर भूगर्भवीदहरुले पहिरो गएको पाखाबाटै पुन: सडक खोल्ने काम जोखिमपुर्ण हुनसक्ने बताएका छन्।

एउटा सिङ्गो वस्तीका करिव १५० जनाको ज्यान लिंदै सुनकोसी नदीको वहावलाई नै थुनिदिने गरि आएको जुरेको पहिरोस्थलमाथिबाट सडक खोल्ने काम शुरु भइसकेको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बीबीसीलाई बताए।

निर्माण कार्य

“पहिला साना गाडी जान मिल्ने र अर्को साताबाट ठूला कन्टेनर आवतजावत गर्न मिल्ने गरि सडक खन्न सबै लागि राख्नु भएको छ।”

उनका अनुसार काठमाण्डूदेखि चीनको सीमा नजिकैको कोदारी जोड्ने अरनिको राजमार्गको जुरे क्षेत्रमा करिव डेढ किलोमिटर सडक क्षतिग्रस्त भएका कारण नयाँ विकल्प खोजिएको हो।

सुनकोसी नदिमा खसेको पहिरोको बाँधका कारण बनेको तालको व्यवस्थापन कार्यमा खटिएको सरकारी टोलीका भूगर्भवीद रन्जनकुमार दाहालका अनुसार अल्पकालीन रुपमा सडक सम्पर्क स्थापित गर्नको निम्ति जोखिम मोलेरै भएपनि पहिरो गएकै पाखाबाट सडक खोल्न लागिएको हो।

“त्यो पहिरो बगिरहने क्षेत्र नै हो, तर हामीले जोखिम मोलेरै भएपनि सडक खोल्ने, ठूला उपकरण लैजाने र तालको पानी घटाउने प्रयासमा लागिरहेका छौं।”

अधिकारीहरुका अनुसार स्थानीयबासी र व्यापारीहरुको सक्रियतामा पहिरो स्थलमाथिबाटै सडक खोल्ने काम थालिएको छ।

‘जोखिम’

जुरे क्षेत्रको पहिरोबारे अध्ययन गरेका भूगर्भवीद सुवोध ढकालका विचारमा पहिरो माथिको नयाँ सडकले भविष्यमा जोखिम निम्त्याउन सक्छ।

“उहाँहरुले गृहकार्यै गरेर गर्नु भएको होला तर त्यस क्षेत्रमा पहिरो रोकिएको छैन।”

अधिकारीहरुका अनुसार सडक सम्पर्क स्थापित भएपछि सुनकोसीको बाँध खोल्नको निम्ति ठूला उपकरणहरु लैजान पनि सम्भव हुनेछ।

तीन साताको अथक प्रयासपछि नेपाली सेनाको टोलीले सुनकोसीमा बनेको जलासयबाट करिव दुई मिटर पानी घटाउन सफल भएको बताइएको छ।

काठमाण्डूस्थित बीबीसीका एकजना सम्वाददाता भन्छन्, “ठूला उपकरणहरुको प्रयोग गरेर केहि साताभित्रै सुनकोसीको जलासयको पानी घटाउने र पुरिएको वा डुबेको पुरानै सडकलाई सञ्चालनमा ल्याउने सरकारको योजना रहेको छ।”