‘रुसी सैनिक युक्रेनी सेनाविरुद्ध लड्दै’

  • 28 अगस्ट 2014
तस्वीर कपीराइट RIA Novosti
Image caption रुसी नेताहरुले भने युक्रेनको तनावमा आफूहरुको संलग्नता रहेको आरोपको खण्डन गर्दै आएका छन्

युक्रेनमा जारी संघर्षबीच पूर्वी युक्रेनका रुस समर्थक एक पृथकतावादी नेताले रुसका सक्रिय सैनिकहरु समेत हाल युक्रेनी सरकारी सेनाविरुद्ध लडिरहेको बताएका छन्।

अलेक्जान्डर जाखार्चेन्कोले विद्रोही सैन्य फौजमा तीनदेखि चार हजार रुसी सैनिकहरु रहेको बताए।

तीमध्ये केही अवकास प्राप्त रुसी सैन्य हुन् भने केही विदामा गएका सैनिक छन्।

यसैबीच युक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोले राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी हुनको निम्ति टर्कीको भ्रमण रद्द गरेका छन्।

आलोचना

पूर्वी युक्रेनका रुससमर्थक नेताले रुसका सक्रिय सैनिकहरु समेत विद्रोही फौजमा सामेल भएको खुलासा गरेको बेला युक्रेनका लागि अमेरिकी राजदूत जेफ्री प्याटले रुसको कडा आलोचना गरेका छन्।

उनले युक्रेनको द्वन्द्वमा मस्कोका फौजहरु सीधै संलग्न भएको आरोप लगाएका छन्।

भियनामा युरोपेली सुरक्षा संगठन ओसेकको बैठकपछि ओसेकका लागि युक्रेनी राजदूत पनि रुसविरुद्ध खनिदै युक्रेनमा रुसले हस्तक्षेप गरेको आरोप लगाए।

यसैबेला युक्रेनी राष्ट्रपति पोरोशेन्कोले टर्कीको भ्रमण रद्द गर्दै राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका छन्।

सो बैठकमा युक्रेनमा रुसी सैन्य हस्तक्षेपबारे छलफल हुने बताइएको छ।

कब्जा

गत २४ घन्टामा सी अफ अजोव क्षेत्रमा रहेका कैयौ तटीय नगरहरु रुसी सैन्यको कब्जामा गएको कियभको विश्वास छ।

युक्रेनका प्रधामन्त्री आर्सेनि यात्सेन्युकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपमा जानाजानी युद्ध निम्त्याएको आरोप लगाएका छन्।

तर रुसले आफ्ना फौजहरु युक्रेनी सीमाभित्र प्रवेश नगरेको बताएको छ।

गत अप्रिलमा युक्रेनी फौज र पृथकतावादीहरुबीच द्वन्द्व शुरु भएयता २१ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

विद्रोहीहरुको पछिल्लो सफलताले सो द्वन्द्वलाई नयाँ मोडतिर धकेल्न सक्ने ठानिएको छ।