युक्रेनबारे रुसी राष्ट्रपतिको आह्वान

  • 31 अगस्ट 2014
तस्वीर कपीराइट RIA Novosti
Image caption अमेरिकालगायत पश्चिमा मुलुकहरुले रुस विरुद्ध नाकाबन्दीहरु लगाउँदै आएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा नयां राज्यसत्ता दिनेबारे छलफल गर्न आह्वान गरेका छन्।

युरोपेली संघ इयुले युक्रेनसम्बन्धी आफ्नो नीतिबाट रुसलाई पछि हट्न एक हप्ते समयसीमा दिएको भोलिपल्ट उनको त्यस्तो भनाइ आएको हो।

एक हप्ताभित्र रुसले नीति नबदले थप प्रतिबन्धहरु लगाउन भनी इयुले दिएको चेतावनीको असर मस्कोमाथि नपरेको जस्तो देखिन्छ।

आरोप

रुसी राष्ट्रपति पुटिनले त्यस्तो चेतावनी अस्वीकार मात्रै गरेनन्; इयुले, उनकै शब्दमा, युक्रेनमा बलजफ्ती सत्ताकब्जा कू लाई साथ दिइरहेको आरोप पनि लगाए।

रुसी टिभीलाई दिएको अन्तर्रवार्तामा उनले भने, "तत्काल ठोस वार्ताहरु शुरु गरिनुपर्छ। तर कुनै प्राविधिक विषयमा होइन , समाजको राजनीतिक संगठन र दक्षिणपूर्वी युक्रेनमा नयां राज्यसत्ता दिनेबारे वार्ता हुनुपर्छ।"

नयां राज्यसत्ता दिनुपर्ने धारणालाई कियभलाई आफ्नो सैनिक कारवाही रोक्न लगाउन तथा रुस समर्थक पृथकतावादीहरु र रुस आफैसंग वार्ता गर्न दबाब बढाउने मस्कोको रणनीतिका रुपमा हेरिएको छ।

तर अन्तर्वार्ताका क्रममा पुटिनले युक्रेनमा रुसी फौजहरुले पृथकतावादीहरुलाई सघाइरहेको भन्ने युरोपेली आरोप पनि अस्वीकार गरे।