'क्रसर व्यवसायीको आन्दोलन फिर्ता हुने'

  • 1 सेप्टेम्बर 2014
Image caption चुरे दोहन भएको भन्दै सरकारले गिट्टी, ढुँगा उत्खननमा कडाइ गर्ने तयारी गरेको थियो

सरकारका ठूला विकास निर्माणका आयोजना समेत ठप्प हुने गरी आन्दोलन गरिरहेका निर्माण व्यवसायीहरुको दबाब पछि सरकारले आगामी पुष मसान्तसम्म अहिलेकै स्थानमा उनीहरुलाई आफ्ना क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिएको छ।

पुष मसान्तपछि सरकारले बनाएको मापदण्ड अनुसार नयाँ ठाउँमा स्थानान्तरण नहुने उद्योगहरु बन्द गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिले गरेको हो।

चुरे क्षेत्रको अत्यधिक दोहनले गम्भीर नकारात्मक असर पारेको ठहर गर्दै सरकारले गिट्टी ढुंगा उत्खननको नयाँ मापदण्ड लागू गरेपछि क्रसर उद्योग हड्तालमा थिए।

त्यसका कारण निर्माण क्षेत्रमा आश्रित हजारौं मजदुरहरुको रोजगारी खतरामा परेको देखिएको थियो।

बन्द

अर्थमन्त्री रामशरण महत संयोजक रहेको आर्थिक तथा पूर्वाधार समितिको बैठकले क्रसर उद्योगहरुलाई अहिलेकै स्थानमा पुष मसान्त सम्म सञ्चालन गर्न दिने निर्णय गरेको प्रधानमन्त्री कार्यलयका सचिव शान्तराज सुवेदीले बताए।

उनले भने, “क्रसर उद्योगहरुलाई पुष मसान्तसम्म अहिलेकै स्थानमा र त्यसपछि नयाँ मापदण्ड अनुसार स्थानान्तरण गराउने निर्णय भएको छ। तोकिएको समयपछि स्थानान्तरण नहुने उद्योगहरु बन्द हुनेछन्।”

उनका अनुसार खानी तथा भूगर्भ विभागले रोडा, गिट्टी, ढुँगा उत्खन्न गर्न मिल्ने स्थानहरुको पहिचान गर्ने कार्य अघि बढाएको छ।

साथै पुषपछि क्रसर उद्योगहरुलाई नदी, पुल र सडकबाट निश्चित दूरीमा मात्र उद्योग सञ्चालन गर्न दिने गरी मापदण्ड तय गरिएको सचिव सुवेदीले बताए।

नेपाल क्रसर तथा खानी व्यवसायी महासंघका अध्यक्ष उमेश शेरचनले सरकारी निर्णयको औपचारिक जानकारी भएपछि बुधवारदेखि आन्दोलन फिर्ता लिने बताए।

असर

रोडा ढुंगाको उत्खननमा लगाइएको प्रतिबन्धसंगै सिमेन्टको खपत बन्द हुँदा देशभरका झन्डै दुई दर्जन सिमेन्ट उद्योगहरु बन्द भएका थिए।

जगदम्बा सिमेन्ट उद्योगका महाप्रवन्धक विदुर ढुंगानाले भने, “सिमेन्ट कारखाना मात्र होइन, स्टिल कारखाना, हार्डवेयर व्यवसाय सबै भोकभोकै हिँड्नुपर्ने अवस्था छ, ढुँगा गिट्टी रोक लगाउँदा सिमेन्ट कारखानाहरु सञ्चालन हुनसक्ने स्थिति थिएन।”

यसको असर ढुवानी व्यवसायी, निजी घर निर्माणमा संलग्न मजदुर देखि लिएर निर्माणाधीन ठूला आयोजनाहरुलाई पनि परेको थियो।

सरकारले चुरेको अत्यधिक दोहन भएको भन्दै गएको साउन १ गते देखि रोडा ढुँगाको उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाउँदै रोडा ढुंगाको व्यवसायमा संलग्न क्रसर उद्योगीहरुलाई निश्चित मापदण्डमा रहेर मात्र क्रसर उद्योग संचालन गर्न निर्देशन दिएको थियो।