महिला कामदार मलेसिया पठाउने पहल

  • 1 सेप्टेम्बर 2014
Image caption नेपाली महिलाहरु घरेलु कामका लागि विशेष गरी कुवेत, कतार, साउदी अरेबिया जाने गरेका छन्

सरकारले विभिन्न खाडी मुलुकहरुमा काम गर्न जाने महिला कामदारलाई ती देशमा जान अस्थायी रुपमा प्रतिवन्ध लगाएर मलेसियामा आकर्षित गर्ने गरि श्रम सम्झौताको पहल भइरहेको बताएको छ।

उमेर हद लगाएपछि भारतको बाटो हुँदै खाडी मुलुक जाँदा महिलाहरु थप असुरक्षित बनेको भन्दै ती देशमा श्रम सम्झौता नगरेसम्म त्यहाँ भिसा नदिन सम्बन्धित देशलाई पत्राचार गरिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

३० वर्ष उमेर पुगेका महिलाहरु मात्रै घरेलु कामदारको रुपमा खाडी मुलुक जान पाउने नियम सरकारले १ वर्ष अघि ल्याएपछि खुला सिमा काटेर भारत हुँदै खाडी मुलुक जाने महिलाहरुको संख्या ह्वात्तै बढेको थियो।

त्यसरी जाने महिलाहरु थप असुरक्षित भएपछि अस्थायी रुपमा महिलाहरुलाई ती देशमा जान प्रतिवन्ध लगाउनुपरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

पत्राचार

आफूहरुले त्यसबारे सम्बन्धीत देशमा रहेका नियोगलाई पत्राचार गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले बताए।

उनले भने, “श्रम मन्त्रालयले श्रम सम्झौता गरेर मात्रै खाडी मुलुकमा महिला कामदार पठाउने निर्णय गरेको रहेछ। त्यसैबारे सम्झौता नहुँदासम्म भिसा नदिन हामीले नियोगमार्फत ती देशमा पत्राचार गरेका छौं।”

खाडी मुलुक जान अस्थायी प्रतिबन्ध लगाएपछि महिलाहरु ती देशसँग श्रम सम्झौता नहुँदा सम्म त्यहाँ जान नपाउने भएका छन्।

तर त्यसैबीच खाडी मुलुकमा भन्दा पहिला मलेसियासँग श्रम सम्झौताको पहल गरिरहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

पहल

त्यसपछि महिलाहरुलाइ मलेसिया जान प्रोत्साहन गर्ने योजना रहेको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए।

उनले भने, “खाडी मुलुकमा भन्दा मलेसियामा वातावरण, संस्कृति जस्ता कुराले धेरै राम्रो छ।

मेरो आशय मलेसियासँग श्रम सम्झौता हुने बितिक्कै महिलाहरुलाई त्यतै जान प्रोत्साहन गर्ने छ।”

मलेसियासँग श्रम सम्झौता भएपछि नेपाली महिलाहरुलाई कम्तीमा २ महिनाको तालिम दिइने छ।

त्यसतो सम्झौताको आधारमा जाने महिलाहरुको सुरक्षा ब्यवस्था राम्रो हुने र तुलनात्मक रुपमा खाडी मुलुकमा भन्दा राम्रो पारिश्रमिक हुने गुरुङले बताए।