लोकतन्त्रप्रति पाकिस्तानी सेनापतिको प्रतिवद्धता

  • 1 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption प्रदर्शनकारीहरुले प्रधानमन्त्री नवाज शरिफले राजीनामा नदिएसम्म इस्लामाबाद नछाड्ने बताएका छन्

पाकिस्तानमा दुई सातादेखि चुलिएको राजनीतिक संकटप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँको सेनाका कमाण्डरहरुले लोकतन्त्रलाई समर्थन गर्ने बताएका छन्।

तीनजनाको मृत्यु र सयौं घाईते हुनेगरी राजधानी इस्लामाबादमा प्रहरी र प्रदर्शनकारीहरुबीच भएको झडपपछि सेनाका कमाण्डरहरुले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रदर्शनकारीहरुको प्रधानमन्त्री नवाज शरिफको राजीनामा माग गरेका छन्।

विपक्षी नेता इमरान खान र धार्मिक नेता ताहिरुल कादरि समर्थक प्रदर्शनकारीहरुले इस्लामाबादमा दुई सातादेखि धर्ना दिँदै आएका छन्।

शरिफले भ्रष्टाचार र निर्वाचनमा धाँधली गरेको उनीहरुको आरोप छ।

शरिफले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

चिन्ता

प्रहरी र प्रदर्शनकारीहरुबीच रातभर भएको झडपपछि सेनाका कमाण्डरहरुको बैठक बसेको थियो।

रावलपिण्डीस्थित सैनिक मुख्यालयमा भएको उक्त बैठकको अध्यक्षता सेना प्रमुख जनरल राहिल शरिफले गरेको बताइएको छ।

बैठकपछि जारी वक्तव्यमा सैनिक कमाण्डरहरुले राजनीतिक संकटप्रति आफूहरु गम्भीर रुपमा चिन्तित भएको बताएका छन्।

त्यसबारे प्रतिक्रिया जनाउँदै कादरिले भने, ''तर उनीहरुले यदि शरिफ सरकारले अझै बल प्रयोग गरे, शान्तिपूर्ण रुपमा प्रदर्शन गरिहरेका मानिसहरुलाई मार्ने काम जारी राखे तथा वार्तामार्फत समस्याको समाधान नगरे त्यसले समस्या झन् बढाउने पनि बताएका छन्।''

शनिबार अबेर प्रधानमन्त्री शरिफको निवासतर्फ जाने क्रममा प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोडेका थिए।

झडप

त्यसपछि शुरु भएको झडप आईतबारसम्म जारी रह्यो।

लाठी, ग्यास मास्क र गुलेली लिएका सयौं प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

इस्लामाबादस्थित पोलिक्लिनिक अस्पतालका एक अधिकारीले मानिसहरु अश्रुग्यास, ढुंगा र लाठी प्रहारबाट घाईते भएको पत्रकारहरुलाई बताए।

एकजना प्रदर्शनकारीको हृदयघातका कारण मृत्यु भएको पाकिस्तान इन्स्टिच्युट् अफ मेडिकल साइन्सका प्रवक्ता डा. वसिम ख्वाजाले बताए।

उक्त अस्पताल पुगेका बीबीसीका एकजना संवाददाताले घाईतेहरुमध्ये अधिकांश प्रहरी रहेको बताएका छन्।