'दोश्रो अमेरिकी पत्रकारको हत्या':आइएस

इस्लामिक स्टेट विद्रोहीको नियन्त्रणमा रहेका अमेरिकी पत्रकार स्टीभन सटलफको टाउको काटिएको जस्तो देखिने भिडियो सार्वजनिक भएको छ।
ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले उक्त भिडियोको आधिकारिकता पुष्टी गर्ने प्रयत्न भइरहेको बताएका छन्।
३१ वर्षीय सटलफ सन २०१३ मा सिरियामा अपहरणमा परेका थिए।
अगष्ट महिनामा अर्का अमेरिकी पत्रकार जेम्स फोलेलाई मार्ने क्रममा तयार पारेको भिडियोको अन्त्यमा सटलफलाई पनि देखाइएको थियो।
धम्की
पछिल्लो भिडियोमा विद्रोहीले उनीहरुको नियन्त्रणमा रहेका ब्रीटीश नागरिकलाई पनि मार्ने धम्की दिएका छन्।
सटलफको परिवारले भीडीयोबारे थाहा पाएको र आफुहरु शोकमा रहेको बताएको छ।
फोलीको मृत्युपछि सटलफकी आमाले आइएस नेता अबु बकर अल बगदादीको नाममा उनको छोरा सटलफको जीवन बचाउन अपील गरेकी थिइन्।
अमेरिकाले हालै इराकका आइएस निशानाहरुमा दर्जनौं हवाइ कारवाही गरेको थियो।
अमेरिकाका लागि दोश्रो सन्देश शीर्षक दिइएको उक्त भिडियो साढे दुइ मिनेट लामो छ र मरुभूमीमा खिचिएको जस्तो देखिन्छ।
बदला
सुन्तला रंगको गाउन लगाएका सटलफको साथमा कालो पोशाक लगाएको नकाबधारी मान्छे पनि देखिन्छ।
सटलफले ओबामालाई लेखिएको सन्देश पढेको ठानिएको छ।
त्यो सन्देशमा भनिएको छ, “ओबामा तिमिले अमेरिकी करदाताको अरबौं रुपैया खर्च गरेका छौ । हाम्रा हजारौं सेनाहरुको ज्यान अघिल्ला लडाइहरुमा गइसकको छ। फेरि युद्ध शुरु गर्नु कसरी हाम्रा नागरिकको हीतमा हुन सक्छ?”
जेम्स फोलीको टाउको काट्ने मान्छेको जस्तै आवाज भएको मानिसले उसले अब गर्न लागेको काम 'अमेरिकी हवाइ कारवाहीको बदलामा हो' भनेको छ।
चेतावनी
अमेरिकीहरुसँग समर्थन जनाउने देशहरुलाई चेतावनी दिँदै इस्लामिक स्टेटका जनतालाई एक्लै छोड्देउ भनिएको छ।
उक्त भिडियो आइएसको नियन्त्रणमा रहेका ब्रीटीश नागरिकको हत्या गर्ने धम्की सहित अन्त्य हुन्छ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता जेन पीसाकीले भनिन्, "यदि यो भिडियो साँचो हो भने हामी यो वर्वर कार्यबाट वाक्क भएका छौं।"
ब्रीटीश प्रधानमन्त्री डेभीड क्यामरनले हत्यालाई घृणित भन्दै निन्दा गरेका छन्।
क्यामरनको कार्यालयले इस्लामिक स्टेटको नियन्त्रणमा एकजना ब्रीटीश रहेको महिनौदेखि थाहा भएको र उच्च अधिकारीसँग त्यसबारे पटक पटक छलफल गरेको बताएको छ।
त्यसबारे यस अघि कुनै प्रतिक्रिया जानीजानी व्यक्त नगरेको र नियन्त्रणमा परेका व्यक्तिको परिवारसँग सम्पर्कमा रहेको ब्रीटीश अधिकारीहरुले बताएका छन्।
ज्यानको बाजी
सटलफका एकजना साथीले बीबीसीलाई भने, सटलफ कसैप्रति पूर्वाग्रह राख्दैनथे र स्वतन्त्र र निस्पक्ष रिपोर्टिङ गर्थे त्यसको बदला अहिले उनले ज्यान दिनु परेको छ।
सटलफले टाइम म्यागेजिन, फरेन पोलीसी र क्रिश्चियन साइन्स मनिटरका लागि काम गरेका छन् र इजीप्ट, लीबिया र सिरियाबाट रिपोर्टिङ गरेका थिए।
टाइम म्यागेजिनकी सम्पादक न्यान्सी गीब्सले आफु स्तब्ध भएको र विश्वका खतरनाक स्थलहरुबाट पाठकहरुलाई सूचना प्रवाह गर्दा सटलफले ज्यानै दिनुपरेको बताएकी छन्।
उनका साथीहरुका अनुसार सटलफ यमनमा धेरै वर्ष बसेका थिए र राम्रो अरबी भाषा बोल्न जानेका थिए।
केहि दिन पहिले त्यसैगरी अमेरिकी पत्रकार जेम्स फोलेको हत्या गरिएको थियो।
सटलफलाई अन्त्यमा देखाइएको थियो र उनको भाग्य ओबामाले लिने कदममा निर्धारित हुने बताइएको थियो।
अमेरिकाले गत महिना इश्लामिक स्टेट विद्रोहीहरुलाई अघि बढ्न रोक्ने प्रयत्नमा रहेको कुर्दिश फौजलाई सघाउन र अल्पसंख्यकहरुलाई संरक्षण गर्न भन्दै १ सय २० वटा हवाइ कारवाही गरेको थियो।
विश्लेषण
बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्ड्नरको विश्लेषण छ, यसो होला भनेर धेरैमा त्रास थियो।
पछिल्ला अमेरिकी हवाइ हमलाले आइएसको उत्तरी इराकमा बिजुली चम्केको जस्तो गरेर बढ्दो उपस्थितिलाई रोकेको छ र आइएसलाई वास्तविक क्षति पुगेको यसले देखाएको छ।
उसको कुर्दिस्तानसम्म पुगेर शासन गर्ने योजना विग्रेको छ।
अमेरिकी जेटसँग सैन्य लडाइ गर्न नसकेपछि आइएसले सूचना युद्ध शुरु गरेको छ र उसलाई थाहा छ त्यसले धेरै पश्चिमा मानिसहरुलाई स्तब्ध बनाइदिनेछ।
ब्रीटेनले अहिलेसम्म शरणार्थीलाई सहयोग उपलब्ध गराउने र कुर्दिश सेनालाई सामान उपलब्ध गराउने बाहेक हवाइ कारवाही अमेरिकालाई छोडेको भएपनि।
तैपनि आफ्नो नियन्त्रणमा रहेका ब्रीटीश नागरिकको हत्या गरेर उसले अमेरिका र ब्रीटेनलाई उत्तिकै शत्रु ठानेको छ।