भदौ २१ गतेभित्रै सहमति हुन्छ: तीन दल

  • 3 सेप्टेम्बर 2014
Image caption भदौ २१ गतेसम्म सहमतिबाट विवादित विषय टुंगो नलागे त्यसपछि प्रकृयाबाट टुंगो लगाउनुपर्ने प्रावधान छ।

प्रमुख तीन दलका शीर्ष नेताहरुले संविधानका विवादित विषयहरुमा भदौ २१ गतेभित्रै सहमति जुट्ने बताएका छन्।

पछिल्ला दिनहरुमा सबै छलफलहरु त्यसैमा केन्द्रित रहेको भन्दै उनीहरुले निर्धारित समय भित्रै संविधान जारी गर्ने गरी लागि रहेको बताए।

सामुदायिक रेडियो प्रसारक संघको १० औं वार्षिक साधारण सभाको उद्घाटन गर्न दोलखा पुगेका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल र शेरबहादुर देउवाले एकअर्कामा कटाक्ष गर्दै र ख्यालठट्टा गर्दै आफ्ना भनाइ राखेका थिए।

तर संविधान निर्माणको विषयमा बोल्दा भने केही संवेदनशील ढंगले बोलेको उनीहरुले आभास दिएका थिए।

संविधान निर्माणको विषयमा एक नेताले राखेका कुरामा अर्का नेताले सहमति पनि जनाएका थिए।

जानकारी

संविधानका विवादित विषयको अन्तर्वस्तुमा छलफलको पछिल्ला प्रगतिहरुबारे एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जानकारी दिएका थिए।

उनले भने, “बिहीबार हामी दिनभरी सँगै बसेर सकेसम्म यी विवादित विषयमा सहमति कायम गर्ने कोशिस गर्ने भन्ने छ।”

उनले तीन दलको छलफलपछि बिहीबार साँझ नै नेकपा माओवादीसँग पनि छलफल गर्ने बताए।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माणका कुरामा पछिल्ला दिनमा भइरहेका छलफलहरु तोकिएको समयसीमामै भित्रै कामसक्ने गरी भइरहेको पनि बताए।

फरक मत

उनले भने, “हामी निरन्तर छलफल गरिरहेका छौं। बिहान, दिउँसो, बेलुकी सबैसमय छलफल भइरहेको छ। हामी साँच्चै घनिभूत रुपले छलफल गरिरहेका छौं।”

संविधानका विवादित विषय मध्ये अन्य विषयमा मिल्न सक्ने सम्भावना देखाएका दलहरुले राज्य पुर्नसंरचनाको विषयमा तीन दलबीच अझै पनि फरक मत रहेको उनीहरुको भनाइबाट प्रष्ट हुन्थ्यो।

त्यो असहमतिको निकासको उपाय बताउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भने, “संघीयता सम्बन्धमा मेरो वा नेकपा एमाले वा एमाओवादी वा मधेसीमात्रैको हुँदैन। केही न केही सबै एकाभावमा लगेर समेटने किसिमको संघीयतामा जानेछौं।”

प्रमुख तीन दलका वरिष्ठ नेताहरुले संविधान निर्माणको विकल्प नभएको भन्दै माघ ८ भित्र संविधान जारी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।