कार्यतालिका संशोधनको प्रस्ताव

  • 5 सेप्टेम्बर 2014
तस्वीर कपीराइट bbc
Image caption एकीकृत मा‌ओवादी र प्रतिपक्षी दलहरु म्याद थपेर सम्वाद समितिमार्फत विवाद हल गरिनुपर्ने पक्षमा छन्

सत्तापक्षीय दलहरुबाट भैरहेको चर्को विरोधकाबीच संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधान लेखनको कार्यतालिका परिमार्जन गरिनुपर्ने बताएका छन्।

उक्त समितिले संविधानका विवादित विषयमा सहमति जुटाउन पाएको म्याद सकिनु एक दिन अघि, भट्टराईले विवादित विषय हल गर्ने समयावधि बढाउँदा पनि माघ ८ गते भित्रै संविधान जारी गर्न सकिने बताए।

समयसीमा सकिन लाग्दा कसरी अघि बढ्ने भन्नेबारे सुझाव लिन उनले बोलाएको सर्वदलीय बैठकमा शुक्रबार सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्को मतभेद देखिएको थियो।

शनिबार तीन दलका शीर्ष नेताको बैठकपछि सम्वाद समितिले उक्त विषय टुंग्याउने नेताहरुले बताएका छन्।

आक्रोश

सम्वाद तथा सहमति समितिले सिहंदरवारमा आयोजना गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले सहमति नजुटेका विषयहरु संविधानसभामा निर्णयका लागि पठाइनुपर्ने माग राखेका थिए।

त्यसपछि बोलेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित भएर संविधानसभामा जानुभन्दा सहमति गर्ने म्याद एक महिना थप्नुपर्ने प्रस्ताव गरे।

सत्तापक्षिय दलहरु प्रति कडा रुपमा प्रस्तुत भएका प्रचण्डले निर्धारित समयमै संविधान लेखिसक्न आफूहरु प्रतिबद्ध रहेको तर सबैलाई मान्य हुने संविधान लेख्न अर्को वर्षको माघ ८ कुर्दा पनि आकाश नखस्ने बताएका थिए।

झन्डै ४ घण्टा चलेको बैठक अनिर्णित टुंगिएपछि पत्रकार सम्मेलन गरेका समितिका सभापति बाबुराम भट्टराईले प्रचण्डकै समर्थन गर्दै हालको कार्यतालिका परिमार्जन गर्नुपर्ने बताए।

उनले भने, “दलहरुकोबीचमा सहमति बनेन भन्ने सन्देश जानु उपयुक्त छैन्, कार्यतालिका केही थपघट गरेर माघ ८ गते भित्रै संविधान बनाउनु सम्भव छ, मोहन वैद्यपक्षसँग हामीले राष्ट्रिय सम्मेलन गर्छौँ भन्ने अनि अहिले आएर हामीले टुंग्याइदियौं भन्यौ भने त उहाँहरुलाई पूरै यो नाटक हो भन्नुपर्छ।”

प्रगति

दोस्रो संविधानसभाको चुनाव भएको सात महिना वित्दा सम्वाद समितिले गठन गरेको उपसमिति पुरानै संविधानसभाले सहमति कायम गरेका विषयहरु टुंग्याउन व्यस्त छ।

संविधान लेखनका सबैभन्दा विवादित विषयहरु राज्यको पुनर्संरचना र शासकीय स्वरुपमा भर्खरै समितिका सभापति भट्टराईको नेतृत्वमा कुराकानी सुरु भएको छ।

ती विषयमा मुख्य दलहरुले पुरानो अडान छोड्दै गएको भन्दै पत्रकार सम्मेलनमा भट्टराईले हिउँ पग्लिने क्रममा रहेकाले चाँडै सहमति हुने बताए।

पहिलो संविधानसभाले विवादित विषय प्रकृयाबाट नटुंग्याउनु गल्ती भएको एकीकृत माओवादीले दोस्रो संविधानसभाको आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेको थियो।

नेता भट्टराईले दलहरु नमिलेको सन्देश जनतामा गए संविधान नआउने र आए पनि असन्तुष्ट समूहहरुले त्यसलाई जलाउन सक्ने चेतावनी दिए।

प्रयास

सर्वदलिय बैठकमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिको कोशिस र विवादित विषयहरुमाथि संविधानसभाले निर्णय गर्ने प्रकृया सँगै अघि बढाइनुपर्ने बताएका थिए।

तर कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले विवादित विषय संविधानसभामा पठाइए पनि सम्वाद समितिलाई सहमति जुटाउन वाधा नपुग्ने बताए।

उनले कार्यतालिका संशोधन गर्नेबारे निर्णय गर्ने अधिकार संविधानसभाको पूर्ण बैठकलाई मात्र भएको बताए।

सिटौलाले भने, “शनिबारको तीन दलको बैठक एकदमै महत्वपूर्ण छ, हामी सहमतिमा नै संविधान निर्माण गर्ने प्रकृया अघि बढाउने गरि एउटा निष्कर्षमा पुग्छौँ।”

संविधानसभाका अन्तरवस्तुमा म्याद थपेर सम्वाद तथा सहमति समितिबाट टुंग्याउनुपर्ने एकीकृत नेकपा माओवादीको मागमा तराई केन्द्रित र अन्य साना प्रतिपक्षी दलहरुले समर्थन गरेका छन्।

विवादित विषयमा सहमति जुटाउने अन्तिम दिन, शनिबार, संविधानका अन्तरवस्तुको साटो कार्यतालिकाको विवाद मिलाउन तीन दलका शीर्ष नेता र त्यसपछि संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिको बैठक बस्ने कार्यसूची छ।