शान्ति सम्झौताप्रति युक्रेन आशावादी

  • 5 सेप्टेम्बर 2014
युक्रेनी फौज तस्वीर कपीराइट AP
Image caption पूर्वी युक्रेनमा रुस समर्थक विद्रोही र सरकारी फौजबीच ठाउँठाउँमा लडाईं चलिरहेको छ

उत्तर एट्लान्टिक सन्धि संगठन नेटोका नेताहरु सम्मेलनको दोश्रो दिनको तयारीमा जुटिरहेका बेला युक्रेनमा जारी संघर्ष अन्त्यका लागि शुक्रबारसम्म संघर्ष विरामसम्बन्धी सहमति हुन सक्ने सम्भावना देखिएको छ।

बिहिबार राति नेटो सम्मेलनमा बोल्दै युक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोले आफ्नो देशमा भइरहेको लडाई अन्त्य गर्न रुससँग एउटा शान्ति सम्झौतामा पुग्ने आशा व्यक्त गरे।

उनले सम्मेलनमा सहमतिमा पुगेमा आफू जतिसक्दो छिटो संघर्षविराम गर्न इच्छुक रहेको पनि बताए।

एक दिनअघि मात्रै युक्रेनी राष्ट्रपति पोरोशेन्कोले रुसमाथि सिधा र खुला अतिक्रमण गरेको आरोप लगाएका थिए।

सम्झौता

अहिले भने उनले संघर्षविरामका निम्ति एउटा सम्झौतमा पुग्न सकिने सम्भावना औंल्याए।

तस्वीर कपीराइट Reuters
Image caption नेटोका महासचिव एन्डर्स फग रासमुस्सेन युक्रेनको संकट अन्त्यका लागि रुसको भूमिकाप्रति सशंकित छन्

तर सबै कुरा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बुधवार प्रस्तुत गरेको सातबुँदे शान्ति प्रस्तावमाथि दुवै देशका राजदूतबीच हुने वार्तामा निर्भर हुनेछ।

नेटो सम्मेलनमा बोल्ने क्रममा राष्ट्रति पोरोशेन्कोले आफू सम्झौता हुनेमा आशावादी रहेको बताउँदै भने, “मैले हिंसा अन्त्य गर्ने प्रयासमा आफूले सक्ने जति गरिहेको छु।”

तर नेटोका महासचिव एन्डर्स फग रासमुस्सेनले रुसी राष्ट्रपतिद्वारा प्रस्तावित शान्ति योजनाले युक्रेनको अस्थिरता ढाकछोप गर्ने प्रयास गरेको र उच्च जोखिम बाँकी रहेको आरोप लगाएका थिए।

प्रतिबन्ध

यदि शुक्रबार सम्झौता र युद्धविराम भएन भने युरोपेली संघ र अमेरिकाले रुस र राष्ट्रपति पुटिनविरुद्ध थप प्रतिबन्धहरु घोषणा गर्ने बताइएको छ।

ब्रिटेनका अधिकारीहरुका अनुसार थप प्रतिबन्ध रुसी बैंक, उर्जा र रक्षा क्षेत्रसँग सम्बन्धित हुनेछन्।

पश्मिमा देशहरुले रुसमाथि पूर्वी युक्रेनमा जारी हिंसामा संलग्न विद्रोहीहरुलाई सघाउन हतियार र फौज पठाइरहेको आरोप लगाउने गरेका छन्।

तर ती सबै आरोप रुसले अस्वीकार गर्दै आएको छ।