युक्रेनी सरकार र विद्रोहीबीच युद्धविराम

  • 5 सेप्टेम्बर 2014
ukraine तस्वीर कपीराइट AP
Image caption युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले युद्धविराम भएको घोषणा गरेका थिए

युक्रेनी सरकार र रुस समर्थक विद्रोहीहरुबीच युद्धविराम सुरु गर्न प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ।

बेलारुसको राजधानी मिन्स्कमा भएको वार्तापछि युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले त्यसबारे घोषणा गरेका हुन्।

पछिल्लो सहमतिका विस्तृत विवरणहरु आउन बांकी रहेपनि शुक्रबारैबाट युद्धविराम कार्यान्वयन हुने बताइएको छ।

विश्वास

मिन्स्कमा भएको वार्तामा युक्रेनका पूर्व राष्ट्रपति लियोनिड कुच्मा, युक्रेनका लागि रुसी राजदूत मिखाइल जुराबोभ र दोनेस्क तथा लुहन्स्कमा स्वघोषित जनगणतन्त्रका नेताहरु थिए।

संघर्षविरामले केही महिनायता युक्रेनमा जारी संकटलाई मत्थर पार्ने विश्वास लिइएको छ।

तथापि मिन्स्कमा वार्ता जारी रहंदा युक्रेनको पूर्वी भागबाट संघर्षका विवरणहरु आएका थिए।

बन्दरगाहा शहर मारिउपोलमाथि नियन्त्रण कायम गर्न युक्रेनी सरकारी फौज तथा स्वयमसेवकहरुले प्रयास गरिरहेका छन्।

त्यहांस्थित बीबीसी संवाददाताका अनुसार रुस समर्थक विद्रोहीहरुले पनि शहरभन्दा ४ किलोमिटर जति पर रहेका युक्रेनी ठेगानाहरुमा आक्रमण गरिरहेका छन्।

नयां फौज

मिन्स्कमा भएको वार्ता र उत्तर एटलान्टिक सन्धि संगठन नेटोको वेल्समा भएको जमघट एकैजसो समयमा परेको थियो।

उक्त बैठकबाट नेटोले युक्रेनमा रुसी कदम र बढ्दो इस्लामवादी उग्रवादबाट चिन्तित मित्रराष्ट्रहरुलाई विश्वस्त पार्न नयां सैन्य फौज स्थापना गर्ने निर्णय गरेको छ।

नेटोका महासचिव एन्डर्स फो रासमुसेनले उक्त फौज छोटो समयमै खटाउन मिल्ने र त्यसमा हजारौ सैनिक रहने बताए।

ती सैनिकलाई स्थल, जल र हवाइ सहायता पनि रहने उनले बताए।

नेटो तथा पश्चिमा शक्तिहरुले युक्रेनका विद्रोहीहरुलाई रुसले सघाइरहेको आरोप लगाउने गरेका छन् भने रुसले त्यसको खण्डन गर्दै आएको छ।