'इबोला नियन्त्रणका लागि निषेधाज्ञा'

  • 6 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption इबोलाका कारण सियरा लियोनसहित पश्चिम अफ्रिकाका ४ वटा देशमा मात्रै २१ सय जनाको ज्यान गइसकेको छ।

प्राणघातक इबोलाबाट सबैभन्दा बढी प्रभावितमध्येको एउटा पश्चिम अफ्रिकी मुलुक सियारो लियोनले उक्त रोगसंग जुध्नका लागि भन्दै घरबाट बाहिर निस्कन मानिसहरुलाई तीन दिन सम्म प्रतिवन्ध लगाउने घोषणा गरेको छ।

अधिकारीहरुका अनुसार उक्त प्रतिवन्ध दुई हप्तापछि लागू हुनेछ।

उक्त प्रतिवन्धले घरघरमा पुगेर इबोला रोगीको पहिचान गर्न स्वास्थ्यकर्मीहरुलाई मद्दत गर्ने ठानिएको छ।

अधिकारीहरुका अनुसार आगामी सेप्टेम्बर १९ देखि २२ सम्म उक्त प्रतिबन्ध लागू हुनेछ।

घोषणा

मानिसहरुले खाना तथा अन्य अत्यावश्यक वस्तुहरु संकलन गर्न सकून् भन्नका लागि दुई साताअघि नै प्रतिबन्धको घोषणा गरिएको स्वास्थ्य मन्त्रालयका एक जना प्रवक्ताले जनाए।

त्यहांस्थित बीबीसी संवाददाता उमारु फोफानाले भने, "सरकार स्वयमले पनि यो एकदमै कडा कदम भएको स्वीकार गरेको छ। मैले राष्ट्रपतिका सल्लाहकारसंग कुरा गरेको थियो उनले पनि यो कदम निकै अप्ठ्यारो भएको बताए। सरकारले भने जनतालाई खाद्न्न संकलनका लागि केही समय दिनुपर्ने तर्क गरेको छ तर

यो कर्फ्यु जस्तै देखिन्छ।"

इबोला नियन्त्रणका लागि भन्दै चालिएको पछिल्लो कदम अहिलेसम्मकै कडा भएको ठानिएको छ।

शिकार

सियरा लियोनका अधिकारीहरुले पछिल्लो प्रतिबन्ध कडा रुपमा लागू गर्न २० हजारभन्दा बढी मानिसहरुलाई खटाउने बताएका छन्।

तर त्यसको बलजफ्ती कार्यान्वयन गर्न खोजिए हिंसात्मक प्रदर्शनहरु हुन सक्ने आशंका गरिएको छ।

पछिल्लो सरकारी कदमको सफलता सियरा लियोनका जनताले कतिको त्यसलाई मान्छन् भन्नेमा निर्भर रहने बताइएको छ।

सियरालियोनमा मात्रै २० जना भन्दा बढी स्वास्थ्यकर्मीहरु उक्त प्राणघातक रोगको शिकार भएका थिए।