ताल फुटेपछि सुनकोशीको स्थिति सामान्य

  • 7 सेप्टेम्बर 2014
Image caption विकल्पका लागि सडक विभागले खोलिरहेको अरनिको राजमार्गमाथिको बाटोमा थप पहिरो गएको बताइएको छ।

सिन्धुपाल्चोकस्थित सुनकोशीमा गत महिना गएको पहिरोले खोला थुनिएर बनेको ताल फुटेर लगभग ७५ प्रतिशत पानी निकास भइसकेकोले अब उक्त तालले निम्त्याउने सम्भावित खतरा टरेको अधिकारीहरुले बताएका छन्।

आइतबार सबेरै ताल अकस्मात फुटेपनि आशंका गरिएजस्तो तल्लो तटीय क्षेत्रमा कुनै ठूलो क्षति नपुगेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले बताए।

नेपाली सेनाले भने तालबाट पानी एक्कासी निकास नहोस् भनेर ताल खोल्न नियन्त्रित विस्फोट तथा एक्स्काभेटर प्रयोग गर्दै आएको थियो।

अहिले पानीको सतह घट्दै गएर सडक र पुरिएका भौतिक संरचना देखिन थाले पनि पुरानै बाटो सञ्चालनमा आउने सम्भावना तत्काल नदेखिएको बताइएको छ।

सम्भावना

साउन १७ गते सिन्धुपाल्चोकको जुरे भन्ने ठाउँमा गएको भिषण पहिरोले सुनकोशी थुनिँदा करिब ८० लाख क्युसेक पानी जम्मा भएको ताल बनेको थियो।

त्यो ताल अकस्मात फुटे तल्लो तटिय क्षेत्रमा बस्ने हजारौं मानिस प्रभावित हुने अनुमान गरिएको थियो।

तर आइतबार विहान करिब ३ बजे एक्कासी ताल फुटेर पानीको ठूलो बहाव भएपनि अहिले स्थिति सामान्य भइसकेको बताइएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले भने, “तालमा करिब ८० प्रतिशत पानी नोक्सान भएर करिब १८ मिटर पानी घटेको छ अब त्यसले नोक्सान गर्दैन भन्ने अनुमान गरिएको छ।”

अब तालबाट खतरा नदेखिए पनि पहिरो जाने क्रम नरोकिएकोले अवरुद्ध अरनिको राजमार्ग तत्काल खुलिहाल्ने सम्भावना भने नरहेको अधिकारीहरुले बताए।

अपेक्षा

चाडबाडको मुखमा चीनको नाका खासा हुँदै नेपाल भित्रिने सामानहरु रोकिएपछि नेपाली सेनाको नेतृत्वमा राजमार्गको दक्षिणबाट अर्को बाटो खन्न सुरु गरिएको थियो।

राजमार्गको विकल्पमा उक्त बाटो अवको केही दिनमा खुल्ने अपेक्षा रहेको बताइएको छ।

पराजुलीले भने, “सेनाले बनाइरहेको बाटोमा सुनकोशी भंगालोमा बेलिब्रिज हालेपछि अबको ३/४ दिनमा खुल्ने भन्ने कुरा छ।”

ठूलो मानवीय र भौतिक क्षति गराएको उक्त पहिरोले ५ हप्तादेखि बाटो अवरुद्ध गराउँदा सामान बोकेका ३ हजार भन्दा बढी कन्टेनर काठमाडौं भित्रिन सकेका छैनन्।

पहिरोमा परि १ सय ५६ जना मानिसको मृत्यू भएको थियो भने करोडौंको भौतिक संरचनामा क्षति पुगेको थियो।