सुनकोशीको ताल फूट्यो

  • 7 सेप्टेम्बर 2014
तस्वीर कपीराइट kapil dhital
Image caption सुनकोशी नदीमा पहिरो खसेर ताल बन्दा डुबेका घरहरु बाँध फुटेपछि देखिन थालेको बताइएको छ

सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले गत साउन १७ देखि थुनिएको सुनकोशी नदीमा बनेको बाँध गएराती भत्किएपछि तालको पानी निकै घटेको अधिकारीहरुले बताएका छन्।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार शनिबार राती एकबजेतिर बाँध भत्किएपछि तालको पानी १० मिटर जति घटिसकेको छ।

शनिबार राती परेको पानीले तालमा दवाव बढेको र सेनाले निकास खोल्न खोजिरहेको दोश्रो ठाउँमा बाँध भत्किएको ढकाल बताउँछन्।

जोखिम

उनी भन्छन्, "संभावित खतराबाट बचाउन तल्लो तटमा हामीले खबर गरिसकेका छौं। अहिले नदीमा बगिरहेको पानीको मात्राले रामेछापभन्दा तलको भागलाई खतरा छैन भन्ने बुझिन्छ।"

प्रवक्ता ढकालले सेनाको एक्स्क्याभेटर बगाएर केहि तल पुर्याएको तर अन्य कुनै क्षति भएको खबर प्राप्त नभएको बताए।

साउन अन्त्यमा गएको ठूलो पहिरोले नदी थुनिँदा ४५ मीटर गहिरो ताल बनेको थियो।

सेनाले विस्फोट गराएर पानी जाने निकास ठूलो बनाउने प्रयत्न गरेपनि सफल हुन सकिरहेको थिएन।

प्रयत्न

अधिकारीहरुले नेपालका बाहेक चीन र भारतका विज्ञहरुलाई स्थलगत भ्रमण गराएर सुनकोशीको निकासबारे कुराकानी गरिएको जानकारी दिएका थिए।

ढकाल भन्छन्, "दुवै देशका विज्ञहरुले नेपालले गरिरहेको प्रयास उचित भनेका थिए। हामीले क्रमश: ताल फुटाउने प्रयत्न गरिरहेकै थियौं।"

जुरेमा आएको पहिरोमा परेर पचासजनाको ज्यान गएको र १ सय २४ जना वेपत्ता भएका थिए, जसलाई पछि सरकारले मृत सरह घोषणा गरेको थियो।