युक्रेनमा फेरी दोहोरो संघर्ष सुरु

  • 7 सेप्टेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption गत एप्रिलदेखि पूर्वी युक्रेनमा भएको संघर्षले करिब २६ सय मानिसहरु मारिएका छन्।

युक्रेनमा संघर्षविराम लागू भएको दुई दिन नबित्दै सरकारी सेना र रुस समर्थित विद्रोहीहरुबीच विभिन्न ठाउँमा दोहोरो संघर्ष भएका विवरणहरु आएका छन्।

ती घटनापछि संघर्षविराम भंग हुनसक्ने चिन्ता बढ्न थालेको छ।

पूर्वी युक्रेनस्थित दोनेत्स्क विमानस्थलमाथि नियन्त्रण जमाउन युक्रेनी फौज र रुस समर्थक विद्रोहीहरुबीच दोहोरो मोर्टार हानाहान भएको छ।

रणनीतिक रुपमा महत्वपूर्ण बन्दरगाहा शहर मारियोपोलमा पनि संक्षिप्त भिडन्तहरु भएको बताइएको छ।

आरोप

उक्त भिडन्तमा एकजना महिलाको ज्यान गएको र अन्य तीनजना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

एकजना बीबीसी संवाददाताका अनुसार शुक्रबारको संघर्षविरामले लडाइ रोकेको भन्ने कमै विश्वास त्यहांका स्थानीयवासीमा छ।

युक्रेन, रुस, विद्रोहीहरु र युरोपेली सुरक्षा तथा सहकार्य संगठन ओएससिइ संलग्न वार्तामा १२ बुंदे संघर्षविराम भएको थियो।

तर केही झडपहरु हुंदैमा संघर्षविराम भंग नहुने ओएससिइले जनाएको छ।

गत अप्रिलयता पूर्वी युक्रेनमा भएको लडाइमा २६ सय जना मानिसको ज्यान गइसकेको छ।

त्यसक्रममा ८ सय ६४ जना युक्रेनी सैनिकको ज्यान गएको बताइएको छ।

ती संघर्षहरुमा रुसले विद्रोहीहरुलाई सघाइरहेको भन्ने पश्चिमा आरोपहरुको मस्कोले खण्डन गर्दै आएको छ।