इराकमा "आइएस" धपाउन अमेरिकी हवाई हमला

  • 8 सेप्टेम्बर 2014

इराकमा सरकारी सेनाले भनेका छन् तिनीहरुले अमेरिकी हवाई हमलाको सहयोगमा इस्लामीक स्टेट, आइएस, उग्रवादीहरुलाई हडिथा बांध वरपरको रणनीतिक दृष्टिले महत्वपूर्व विस्तारित क्षेत्रबाट धपाएका छन्।

ति जिहादवादीहरुले पश्चिमी प्रान्त अन्बारमा युफ्रटिज नदीमाथिको उक्त बांधलाई कब्जामा लिन बारम्बार प्रयास गरिरहेका थिए।

उत्तरी इराक बाहिर त्यसरी अन्यत्र अमेरिकी हवाई हमला गरिएको त्यो पहिलो घटना हो।

यसैबीच प्रधानमन्त्री-नियुक्त हैदर अल-अबादीको प्रस्तावित सरकारमाथि मतदान गर्न इराकी संसदको बैठक बस्दैछ।

नयां मन्त्रीमण्डलको स्वरुप सार्वजनिक गरिएको छैन तर अल-अबादीले सबै राजनीतिक तथा जातिय गुटका प्रतिनिधिहरुलाई समावेश गराउने अनुमान छ।

इर्बीलमा रहेका बीबीसीका सम्बाददाता जीम म्युर भन्छन् त्यसो भएमा बहुसंख्यक शिया अरब तथा सुन्नी अरब र कुद्र अल्पसंख्यकहरुबीचको तनाव कम हुन सक्छ।

तिनीहरुले यसअघिको सरकारलाई सम्प्रदायिक नीति अपनाएको आरोप लगाउने गर्दथे।

तस्वीर कपीराइट BBC World Service

त्यसपछि अमेरिकी सैनिक सहयोगमा पनि बृद्धि हुन सक्नेछ किनकी त्यस्तो सहयोगका लागि अमेरिकाले एउटा एकिकृत र समावेशी सरकार गठन हुनु पर्ने शर्त राखेको थियो।

सहि निशाना

पश्चिम इराकमा रहेका सरकार समर्थक सुन्नी अरब मिलिसियाका एकजना नेता शेख अहमद अबु रिशाले भनेका छन्, हडिटा बांध वरपर गरिएको हवाई हमलामा परि उक्त बांधमा आक्रमण गर्ने प्रयासमा रहेको आइएसको एउटा टुकडी नष्ट भएको छ।

रएटर्स समाचार एजेन्सीसंग कुरा गर्दै उनले हवाई हमला निशानामा परेको र त्यसबाट अन्य असम्बन्धित क्षति नपुगेको बताएका छन्।

हवाई हमलापछि इराकी सैन्यले हडिथा इलाकामा उग्रवादीहरुमाथि आक्रमण गरेको थियो र त्यहांका केहि क्षेत्र नियन्त्रणमा लिन सफल भएको थियो।

सैनिक र मिलिसियाले हडिथाको पूर्वमा रहेको बरवाना क्षेत्रपनि आइएस लडाकुहरुबाट आफ्नो नियन्त्रणमा लिन सकेका थिए।

एएफपी समाचार एजेन्सीका अनुसार आइएस लडाकुहरु आफ्नो हतियार र वाहनहरु समेत छाडेर पछि हटेका थिए।

तस्वीर कपीराइट BBC World Service

हडिथा बांध हडिटा बांद्द इराकको दोस्रो ठूलो जलविद्युत परियोजना हो र यस्ले करोडौं मानिसलाई पानीको पनि व्यवस्था गर्दछ।

अमेरिकाले गत अगष्ट महिना यता उत्तरी इराकमा आइएस विरुद्ध लडिरहेका इराकी र कुर्द ‌ सैनिकहरुलाई सहयोग गर्न १३० पटक भन्दा बढी हवाई हमलाहरु गरेको थियो।

तर आइतबारको हवाई हमला अनबार प्रान्तको लागि भने पहिलो थियो।

यो बर्ष शुरु भएयता देखि नै आइएसका लडाकुहरुले इराकमा रहेका विभिन्न बांधहरुलाई निशाना बनाउंदै आएका थिए। तिनीहरुले गत एप्रील महिनामा फलुजाको बांध कब्जामा लिएका थिए।

गत अगस्टमा तिनीहरुले मोसुलमा रहेको देशको सबैभन्दा ठूलो बांधलाई आफ्नो नियन्त्रणमा लिएका थिए तर पछि अमेरिकी हवाई हमलाका माझ तिनीहरु पछाडी हट्नु परेको थियो।

अब बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइएस विरुद्ध लड्ने आफ्नो रणनीतिको खुलासा गर्दैछन्।