मलेसियाली विमान आकाशमै 'टुक्रा टुक्रा'

  • 9 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption विमानमा रहेका सबै २ सय ९८ जनाको मृत्यू भएको थियो, त्यसमध्ये धेरै नेदरल्याण्ड्सका थिए।

मलेसियाका प्रधानमन्त्री नजीब रजाकले युक्रेनमा दुर्घटनाग्रस्त भएको मलेसिया एअरलाइन्सको विमानका सम्बन्धमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको पहिलो आधिकारीक प्रतिवेदनमा उक्त विमानलाई क्षेप्यास्त्र हमला गरेर खसालिएको भन्ने निष्कर्ष बलियो रुपमा प्रस्तुत गरिएको बताएका छन्।

नेदरल्याण्ड्सका विशेषज्ञहरुका अनुसार, गत जुलाई महिनामा युक्रेनी आकाशमा उडिरहेको मलेसिया एअरलाइन्सको एमएच सेभेन्टिन विमान, तीव्र गतिमा रहेका विभिन्न वस्तुहरुको मारमा परेपछि हावामा नै टुक्रा-टुक्रा भएको थियो।

यो नयाँ प्रतिवेदनले उक्त घटनामा कुनै प्राविधिक वा मानवीय त्रुटीको कुनै पनि प्रमाण नभेटिएको जनाएको छ।

संवाददाताहरु भन्छन्, “छानविन प्रतिवेदनको निष्कर्ष उक्त एमएच सेभेन्टिन विमानमा क्षेप्यास्त्र हमला भएको भन्ने दाबीसँग मिल्न गएको छ।”

खतरनाक

यो नयाँ प्रतिवेदन तयार पारेका अनुसन्धानकर्ताले निष्कर्षका निम्ति ककपीटबाट प्राप्त जानकारी, एअर ट्राफिक कन्ट्रोल र तस्वीरहरुको भर परेका थिए।

किनकि पूर्वी युक्रेनमा रहेको दुर्घटनास्थलमा सरकारी सेना र विद्रोही लडाकुहरुबीच लडाईं चर्किरहेको अवस्थामा, स्थलगत रुपमा अनुसन्धान गर्नको लागि निकै खतरनाक रहेको छ।

उक्त एमएच १७ विमान नेदरल्याण्ड्सको एम्सटरड्यामबाट मलेसियाको क्वालालम्पुर तर्फको उडानमा रहेको थियो र त्यो पूर्वी युक्रेनमा विद्रोही नियन्त्रित इलाकामा खसेको थियो।

त्यसबेला उक्त विमानलाई रुस समर्थक विद्रोहीहरुले हमला गरी खसालिदिएका विवरणहरु आएका थिए।

दुर्घटनाको छानबिन गरिरहेको, नेदरल्याण्ड्सको सुरक्षा बोर्डका अध्यक्षले भने यो समग्र प्रकरणबारेको अन्तिम प्रतिवेदन प्रकाशित गर्न एक वर्षको समय लाग्ने बताएका छन्।

अनुमान

बीबीसीका यातायात सम्बाददाता रिचर्ड वेस्टकट भन्छन्, "यो प्रतिवेदनले स्पष्ट रुपमा एमएच सेभेन्टिन विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको भनेर त भनेको छैन तर त्यसले अरु लगभग सबै विकल्पलाई नकारेको भने छ।"

उडानमा रहेको उक्त विमानमा कुनै आपतकालिन अवस्था थिएन, कुनै प्राविधिक समस्या थिएन र विमानचालकहरुले पनि कुनै गल्ती गरेका थिएनन्।

बरु प्रतिवेदनले उक्त विमानलाई आकाशमा उडिरहेका बेला तीव्र गतिमा रहेका वस्तुहरुले प्वालै प्वाल पारेर खसालिदिएको हुन सक्ने भनेको छ।

जुन बीयुके भनिने क्षेप्यास्त्र प्रणालीले गर्ने हमलाको प्रकृति संग मिल्छ।

त्यस्ता क्षेप्यास्त्रले आफ्नो हमलाको निशानामा ठोक्किएर भन्दा पनि निशानाको नजीकै पुगेर विस्फोट भई टुक्राहरुद्वारा अत्यधिक क्षति पुर्याउने गर्छन्।

तर यो सबै विवरणले सबैभन्दा अहम् प्रश्नको जवाफ भने दिएको छैन, कि त्यस्तो क्षेप्यास्त्र प्रहार कस्ले गर्यो? युक्रेनको द्वन्द्वका दुवै पक्षले त्यस्तो क्षेप्यास्त्रको प्रयोग गर्ने गर्छन्। उडीरहेको विमान खसाल्ने गल्ती कस्ले गर्यो भन्ने पत्ता लगाउन अनुसन्धानकर्ताहरुले जमीनको कुन ठाउंबाट त्यस्तो क्षेप्यास्त्र प्रहार

भएको थियो भन्ने यकिन गर्नु पर्ने हुन्छ।

र एकजना विशेषज्ञले घटनास्थलमा रहेका प्रमाण र रेडारको डेटाबाट अन्तत: त्यो कुरा पनि पत्ता लाग्ने जनाएका छन्।