राजनीतिक सम्मेलन नलम्ब्याउने पक्षमा तीन दल

  • 10 सेप्टेम्बर 2014
तस्वीर कपीराइट BBC World Service
Image caption वैद्य नेतृत्वको नेकपा माओवादीले सर्वपक्षीय राजनीतिक सम्मेलनको अवधि लम्बिने बताएपछि विवाद बढेको हो

सर्वपक्षीय राजनीतिक सम्मेलनबाट सहमति खोजेर मात्रै संविधान जारी गरीनु पर्ने माग राख्दै आएको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले उक्त सम्मेलन महिनौंसम्म पनि लम्बिन सक्ने बताए लगत्तै प्रमुख तीन दलका नेताहरुले सो सम्भव नभएको प्रतिक्रिया दिएका छन्।

संविधानसभा बाहिर रहेका दल तथा समूहहरुसँगको सम्मेलन बढीमा डेढ हप्ताभित्र सकाउनु पर्ने उनीहरुले बताएका छन्।

संविधानसभा बाहिर लामो समय लगाउनु भनेको फेरि पनि संविधानसभाबाट संविधान बन्न नदिने लक्षण भएको उनीहरुको दावी छ।

'डेढ हप्ता'

संविधान निर्माणका विवादित विषयहरुमा सहमति हुन नसकेमा उक्त विषयलाई भदौ मसान्तभित्र पुन: निर्णयार्थ संविधानसभामा पेश गर्नु पर्ने कार्यतालिका रहेको छ।

सत्तारुढ दलहरु कार्यतालिकामा फेरबदल नगरी वैद्य माओवादीको मागलाई संविधानसभामा समेट्न चाहान्छन्।

नेपाली कांग्रेसका नेता प्रकाशशरण महत भन्छन्, “तीन महिना र ६ महिना लगाउने भन्ने कुरो चाहिं फेरि संविधानसभाबाट संविधान नबनाउने कुरा हो।"

"निश्चित एक डेढ हप्तामा उहाँका सुझावहरु लिने, त्यसलाई हुन सक्ने हद सम्म संविधानमा समावेश गर्ने र संविधान समयमै बनाउने दिशामा जानु पर्छ।”

नेकपा एमालेका नेताहरु पनि राजनीतिक सम्मेलन लम्ब्याउनुपर्छ भन्ने विषयमा सकारात्मक छैनन्।

जिम्मेवार

एमाले नेता योगेश भट्टराई भन्छन्, “असोजको एक दुई गते भन्दा उता जानु भनेको संविधान बन्न नदिनु र संविधान बन्ने वातावरणलाई बिथोल्नु हो।”

तालिकामा फेरबदल गरेर भए पनि दलहरुबीच सहमति गरेर मात्रै संविधान लेखन कार्य जारी राख्नु पर्ने धारणा राख्दै आएको एकीकृत नेकपा माओवादीका नेता शक्ति बस्नेत पनि राजनीतिक सम्मेलनले लामो समय लिन नहुने धारणा राख्छन्।

उनले भने, “यदि सबै राजनीतिक पार्टी जिम्मेवार भएर सोच्ने हो भने हप्ता दश दिनमै टुङ्गिन्छ।"

"जब पार्टी र व्यक्तिका स्वार्थ देखिन्छन् तव अवस्था झन गम्भिर भएर जान्छ।”

संविधानसभाका विवादका मुलभूत विषयहरु राज्य पुन संरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीमा विवाद जस्ताको तस्तै रहँदा वैद्य माओवादीको पछिल्ला भनाईले माघ आठ गते संविधान निर्माण गर्ने लक्ष्य थप चुनौतिपूर्ण अनि थप जटिल बनेको कतिपयको धारणा छ।