'आइएस' विरुद्ध ओबामाको नयाँ योजना

  • 10 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption आइएस विरुद्ध इराक र सिरियामा अमेरिकी हवाइ कारवाही बढाउनेबारे राष्ट्रपति ओबामाले छलफल गरेका छन्

अमेरिकी राष्ट्रपति बराक ओबामाले कंग्रेसका नेताहरुलाई इराक र सिरियामा इश्लामिक स्टेट विद्रोहीहरु विरुद्धको वृहत सैन्य अभियान गर्ने उनको योजनाबारे जानकारी दिएका छन्।

आफ्नो रणनीतिबारे उनले दुवै पार्टीका नेताहरुसँग छलफल गरेका हुन्।

यो वार्ता उनले बुधबार राती अमेरिकी जनतालाई सैन्य अभियानबारे प्रत्यक्ष जानकारी दिनु अघि गरिएको छ।

ह्वाइट हाउसले बैठकलाई फलदायी भन्दै ओबामासँग आइएस विरुद्ध कारवाही गर्न अधिकार रहेको बताएको छ।

संकेत

कंग्रेस नेताहरुसँग मंगलबारको बैठक सिरिया विरुद्ध मिसाइल कारवाही गर्ने ओबामाको पूर्व योजना अवरुद्ध भएको एक वर्षपछि भएको छ।

तस्वीर कपीराइट AFP
Image caption अमेरिकाले इराकमा हवाइ कारवाही बढाउने र सिरियामा पनि हवाइ कारवाही शुरु गर्ने संकेत मिलेको छ

त्यस यता आइएस जिहादी समुहले इराक र सिरियाको ठूलो भूभाग नियन्त्रणमा लिएको छ।

गत जुन महिनामा उसले इश्लामिक स्टेट बनाउने निर्णय गरेको थियो।

हालै आइएस लडाकुहरुले इराकमा भइरहेको अमेरिकी हवाइ कारवाहीको विरोधमा दुइजना अमेरिकी पत्रकारको टाउको काटेका थिए।

ओबामाले आइएस विरुद्ध स्थलगत कारवाही नगर्ने भनेका छन् तर उनले हवाइ कारवाही बढाउने र सिरियामाथि पनि हवाइ कारवाही गर्ने संकेत गरेका छन्।

योजना

आइतबार उनले भनेका थिए, केहि महिनाभित्र आइएसको गतिलाई रोक्ने मात्र नभै हामी व्यवस्थित ढंगबाट उनीहरुको क्षमतालाई कमजोर बनाउँदै लग्नेछौं, उनीहरुले नियन्त्रणमा लिएका भूभागलाई खुम्च्याउँदै लग्नेछौं र अन्त्यमा हामी उनीहरुलाई पराजित पार्नेछौं।

मंगलबार ह्वाइट हाउसमा उनले दुवै पार्टीका नेताहरु र सभामुखसँग भेटेका थिए।

ह्वाइटहाउसले जारी गरेको विज्ञप्तीमा भनिएको छ: राष्ट्रपति, उपराष्ट्रपति र कंग्रेसका नेताहरुबीच फलदायी छलफल भयो। नेताहरुले आइएसलाई कमजोर बनाउँदै लगेर अन्त्यमा समाप्त पार्ने योजनाप्रति नेताहरुले समर्थन व्यक्त गरेका छन्।

तस्वीर कपीराइट REUTERS US NAVY
Image caption हवाइ कारवाही बढाउँदै लगेर अन्तत: आइएसलाई समाप्त पार्ने राष्ट्रपति ओबामाले बताएका छन्

ह्वाइट हाउसले भनेको छ, ओबामाले कंग्रेसका नेताहरुको समर्थनलाई स्वागत गर्दै निरन्तर वृहत परामर्श गर्ने वाचा गरेका छन्।

ओबामाका सहयोगीहरुले सैन्य कारवाहीका लागि कंग्रेसबाट नयाँ अनुमति भने नलिने जनाएका छन्।

समर्थन

ओबामाका मुख्य राजनीतिक विपक्षी तथा सभामुख जोन बोहनरले इराकी सुरक्षा फौजलाई तालिम तथा सरसल्लाह दिन अमेरिकी सैन्य तैनाथ गर्ने कुरामा र आइएसका नेताहरुलाई लक्षित कारवाही गर्ने कुरामा राष्ट्रपतिलाई समर्थन गर्ने बताएको बीबीसीलाई सभामुखका सहयोगीले उपलब्ध गराएको विज्ञप्तीमा उल्लेख छ।

वाशिंगटन पोष्ट-एबीसी न्यूजको नयाँ मत सर्वेक्षणमा आम अमेरिकीहरुले इश्लामिक स्टेट अमेरिकाका लागि गंभीर खतरा भएको भन्दै इराक र सिरियामा हवाइ कारवाहीको समर्थन गरेको देखाएको थियो।