इराकी प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच वार्ता

  • 10 सेप्टेम्बर 2014
इराकी प्रधानमन्त्री हैदर अल अबादी तस्वीर कपीराइट

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जन केरिले इराकका नयां प्रधानमन्त्री हैदर अल-अबादीसंग राजधानी बग्दादमा भेटवार्ता गरेका छन्।

दुई नेताबीच इराक र सिरियाका ठूलो भूभागमा कब्जा जमाएको उग्रवादी इस्लामीक स्टेट समूह विरुद्ध लड्न सहयोग परिचालन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरुका बारे छलफल भएको थियो। देशमा व्यापक सुधार गर्ने र सेनाको पुनर्संरचना गर्ने प्रधानमन्त्री अबादीको योजनाबाट आफू उत्साहित भएको अमेरिकी विदेशमन्त्री केरिले बताए। प्रधानमन्त्री अबादीले आइएसलाई संकेत गर्दै उनकै शब्दमा “क्यान्सरको विस्तार” रोक्न सघाउ पु-याउन अन्तर्राष्ट्रिय समुदाय समक्ष अपील पनि गरेका छन्।

समावेशी

उनले उत्तरी इराकमा द्रूत गतिमा उपलब्धी हासिल गरिरहेका इस्लामिक स्टेट व्रिदोहीहरु विरुद्ध लडन र समावेशी सरकार गठन गर्न अमेरिकाले गरेको आह्वान अनुरुप लगभग ४८ घण्टा अघि मात्र एउटा राष्ट्रिय एकताको सरकार गठन गरेका थिए।

तस्वीर कपीराइट

एकजना बीबीसी सम्बाददाता भन्छन्, इराकमा सुन्नी र कुर्द अल्पसंख्यकहरुको गुनासोलाई सम्बोधन गर्न त्यहांको नयां सरकारले छिटो कदम चालेको हेर्ने हतारोमा अमेरिका रहेका छ।

त्यसपछि इस्लामीक स्टेट विरुद्ध एउटा संयुक्त मोर्चा निर्माण गर्न सकिने उसको विश्वास छ।

विदेशमन्त्री जन केरी संगै यात्रामा रहेकी बीबीसी सम्बाददाता बरबरा प्लेट अशर भन्छिन्, "त्यो एकदमै ठूलो चुनौतीको विषय हो किनकि ती समुदायहरुले उठाएका मुद्दाहरुको जरा इराकको संरचनागत विषयहरुमा नै गहिरोसंग गाडिएको छ।"

उल्लेख्य

तर एकजना अमेरिकी अधिकारी भन्छन्, "एउटा क्षेत्रीय सशस्त्र सैन्य वा राष्ट्रिय गार्डहरुको एकाइहरु गठन गर्न सकियो भने मात्रै पनि त्यो उल्लेख्य कदम हुनेछ।"

तस्वीर कपीराइट Reuters

विशेषगरी भूतपूर्व शिया प्रधानमन्त्रीले सेनालाई एउटा साम्प्रदायिक औजारको रुपमा प्रयोग गरेको भन्ने आलोचनाका माझ त्यस्तो निर्णय सान्दर्भिक हुन जानेछ।

विदेशीमन्त्री केरीसंग भेटेकोमा एकजना शक्तिशाली शिया धर्मगुरु मोक्तदा अल शद्रले प्रधानमन्त्री अबादीको आलोचना गरेका जस्तो देखिएको छ।

इस्लामिक स्टेट विरुद्धको संघर्षमा समर्थन जुटाउन अमेरिकी विदेशमन्त्रीले थालेका मध्यपूर्व भ्रमणको पहिलो मुकाम बग्दाद थियो।

बुधबार नै अमेरिकी राष्ट्रपति बाराक ओबामाले इस्लामिक स्टेट समूहलाई पराजीत तुल्याउने आफ्नो रणनीति सार्वजनिक गर्दैछन्।