सम्वाद समितिद्वारा थप समय माग

  • 11 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption संविधानका विवादित विषय हल गर्न सम्वाद समितिलाई दिइएको म्याद भदौ २१ गते सकिएको थियो

संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानका विवादित बिषयमा सहमति जुटाउन थप समय उपलब्ध गराउन संविधानसभा समक्ष माग गरेका छन्।

संविधानसभाको पूर्ण बैठकमा समितिको प्रगति विवरण सहितको प्रतिवेदन पेश गर्दै उनले संविधानका अन्तरवस्तुमा सहमति नगरी मस्यौदा तयार गरिए विग्रहको बीउ रोपिनसक्ने चेतावनी दिए।

उक्त प्रतिवेदनका बारेमा शुक्रबारबाट छलफल गर्ने कार्यसूची तय गरिएको छ।

पछिल्लो घटनाक्रमका कारण असोज १ गतेबाट संविधानको मस्यौदा लेखन प्रारम्भ गर्ने कार्यतालिका प्रभावित हुने भएको छ।

चेतावनी

संविधानसभामा बोल्दै भट्टराईले ३३ वटा विवादित विषयमा सहमति भएको र बाँकी रहेका केही महत्वपूर्ण विषयमा सहमति नजिक पुगिएको बताए।

उनले भने “संविधान निर्माण प्रक्रियाको प्रेशर कुकर तातेको बेलामा जस्तै गरी निक्कै अगाडी बढेको छ तर सिठी अझै लाग्न भ्याएको छैन। टुङगो लाग्न बाँकी विषयमा समितिमा थप छलफल गर्न आवश्यक रहेकाले यस बारेमा संविधानसभाले निर्णय लिनेछ भन्ने विश्वास लिएको छु।”

संविधानसभाको नियमावलीमा विवादित विषयलाई समितिले सल्टाउन नसके बहुमतबाट निर्णय गरेर संविधानको पहिलो मस्यौदा निर्माण गरिने उल्लेख छ।

तर महत्वपूर्ण विषयमा सहमति नगरी अघि बढ्दा देशमा असन्तुष्टि र विग्रहको बिउ रोपिने खतरा रहने उनले चेतावनी दिए।

उनले भने “अन्तिम सम्म पनि महत्वपूर्ण र आधारभूत विषयहरुमा सहमतीय विधि नै अपनाउनु उपयुक्त हुन्छ।”

अन्यौल

एकीकृत माओवादीका नेताहरुले संविधानसभा बाहिर रहेको नेकपा-माओवादी नेतृत्वको मोर्चासँग सहमति जुटाउन आयोजना गर्ने भनिएको राष्ट्रिय राजनीतिक सभाबारे निर्णय लिइएपछि मात्र आवश्यक थप समयबारे टुङ्गोमा पुग्न सकिने बताएका छन्।

तर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले असोज मसान्तसम्म संविधानको पहिलो मस्यौदा तयार पारिसक्ने समयसीमामा कुनै फेरबदल नहुने बताए।

नेम्वाङले भने, “समितिले नै थप समय मागिसकेपछि कार्यतालिकामा अब सामान्य परिमार्जन हुने नै भयो। तर पहिलो मस्यौदा बनाइसक्ने र संविधान जारी गर्ने समयसीमामा कुनै फेरबदल गर्नुहुदैँन भनेर मैले भनेको छु।”

यसअघि राष्ट्रिय राजनीतिक सभाको आयोजनाबारे निर्णय गर्न बिहीबार बसेको प्रमुख चार दलको बैठक विना निष्कर्ष टुङ्गिएको थियो।

नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भने “हाम्रो आन्तरिक प्रशिक्षण सम्पन्न गरेर हामी १ गते सम्म सहभागी हुन सक्छौ भनेर हामीले भन्यौं, तर प्रधानमन्त्रीले १ र २ गते आफुलाई अमेरिका जान तयारी गर्न समय चाहिने भनेकाले टुङगो लागेन।”

पछिल्ला प्रयासहरु निष्कर्षमा नपुगेपछि माघ ८ गते भित्र संविधान जारी गरिसक्ने कार्यतालिका नै प्रभावित हुने हो कि भन्ने आशंकाहरु बढेका छन्।