‘प्रधानन्यायाधीशको नाम आज सिफारिस हुने’

  • 12 सेप्टेम्बर 2014
तस्वीर कपीराइट bbc
Image caption बहालवाला प्रधानन्याधीशले अवकाश पाउने भएपछि सर्वोच्च अदालतले नयाँ नेतृत्व पाउने सभामुख नेम्बाङले बताए

संवैधानिक परिषदको आज विहान बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्ने परिषदका एक सदस्य सभामुख सुबास नेम्बाङले बताएका छन्।

अन्य संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिको सिफारिस भने आजको बैठकले गर्ने सम्भावना न्युन रहेको बताइएको छ।

नियुक्ति

बहालवाला प्रधानन्यायाधीश दामोदर शर्माले असोज २४ बाट ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएपछि आज बस्ने संवैधानिक परिषदको वैठकले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्दैछ।

वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गरीने संवैधानिक परिषदका एकजना सदस्य एवं व्यवस्थापिका-संसदका सभामुख सुवास नेम्बाङले बताए।

उनले भने, “रामकुमार साह, कल्याण श्रेष्ठ, शुशिला कार्की र गिरीशचन्द्र लालको नाम आएको छ।"

"त्यसमध्ये सबैभन्दा वरिष्ठ न्यायाधीश रामकुमार साहकै नियुक्तिको सम्भावना छ।”

झण्डै दुई साताअघि बसेको न्याय परिषदको वैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नियुक्तिको लागि चार जना न्यायाधीशहरुको नाम सिफारिस गरेको थियो।

सुनुवाई

संवैधानिक परिषदको वैठकले सिफारिस गरेको प्रधानन्यायाधीशको उम्मेदवारको संसदीय सुनुवाई हुनेछ।

सुनुवाई समितिको अनुमोदन पश्चात राष्ट्रपतिले पदमा नियुक्त गर्नेछन्।

परिषदको बैठकले मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त पदहरुमा नियुक्तिको सिफारिस गर्ने सम्भावना न्युन रहेको सभामुख नेम्बाङले बताए।

“उपयुक्त उम्मेदवारहरुको नामावली नियम बमोजिम अघिल्लो बैठकमै गरेका छौं, तर नाम सिफारिस भने आज हुदैन, त्यस सम्बन्धी सामान्य जानकारी राख्ने सम्म काम होला,” नेम्बाङले भने।

दलहरुबीच राजनीतिक भागबन्डामा कुरा नमिल्दा उक्त निकायहरुमा पदाधिकारी नियुक्तिमा ढिलाई भएको जानकारहरुको भनाई छ।