आइएस विद्रोहीलाई ध्वस्त पार्नेछौं: ओबामा

  • 11 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption राष्ट्रपति बाराक ओबामाले इराकमा विद्रोही लडाकुविरुद्ध जारी आक्रमणलाई बढाउने बताएका छन्

अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराक र सिरियामा इस्लामिक स्टेट विद्रोही लडाकुहरुविरुद्धको कारवाहीमा पछि नहट्ने घोषणा छन्।

स्थानीय समयअनुसार बुधबार राति टेलिभिजन संबोधनमार्फत इस्लामिक स्टेट विद्रोहीविरुद्धको रणनीति सार्वजनिक गर्दै उनले अमेरिकालाई खतरा निम्त्याउने कुनै पनि समूह सुरक्षित रहन नसक्ने बताएका छन्।

ओबामाले इस्लामिक स्टेट विद्रोहीविरुद्ध योजनाबद्ध आक्रमण गरिने र उनीहरुलाई ध्वस्त पार्ने बताएका छन्।

उनले इस्लामिक स्टेट विद्रोहीहरुले इराक, सिरिया र मध्यपूर्वमा खतरा निम्त्याएको जनाएका छन्।

आक्रमण

उनी भन्छन्, “धेरै अमेरिकीहरु इस्लामिक स्टेट विद्रोहीले निम्त्याएको खतराबारे चिन्तित छन्। म जानकारी गराउन चाहन्छु कि हामीले सामर्थ्यका साथ उनीहरुको सामना गरिरहेका छौं। गत महिना मैले लक्षित आक्रमण गर्न सेनालाई निर्देशन दिएको थिएँ र अहिलेसम्म एकसय ५० भन्दा बढी हवाई आक्रमण गरिएको छ।”

उनले इस्लामिक विद्रोहीविरुद्ध लडिरहेका इराकी सुरक्षा फौज र कुर्द लडाकुहरुलाई हतियार उपलब्ध गराइएको बताएका छन्।

ओबामाले इराकमा चार सय ७५ जना अमेरिकी सेना पठाईने पनि घोषणा गरेका छन्।

यद्यपि ती सैनिकहरु लडाईमा सहभागी नहुने उनले स्पष्ट पारेका छन्।

ओबामाले इस्लामिक स्टेट विद्रोहीविरुद्धको बृहत्त गठबन्धनको अमेरिकाले नेतृत्व पनि गर्ने जनाए।

सहकार्य

उनले इस्लामिक स्टेट विद्रोहीविरुद्धको आक्रमणमा कंग्रेसले आफूलाई समर्थन गरेमा त्यसको स्वागत गर्ने बताएका छन्।

यद्यपि आफुसँग त्यसो गर्ने अधिकार रहेको उनको भनाई छ।

इस्लामिक स्टेट विद्रोहीविरुद्ध सिरियाली सेनाले पनि आक्रमण गरिरहेको छ तर त्यहाँका राष्ट्रपति बशर अल-असदसँग सहकार्य नगरिने ओबामाले स्पष्ट पारेका छन्।

उनी भन्छन्, “आफ्नै जनतालाई आतंकित बनाईरहेका असदसँग मिलेर हामीले इस्लामिक स्टेट विद्रोहीविरुद्ध लडाई गर्नेछैनौं।”

इस्लामिक स्टेट विद्रोहीले इराक र सिरियाको ठूलो भूभागमाथि कब्जा जमाएको बताईएको छ।