'सर्वदलीय सम्मेलन मंगलबार'

  • 12 सेप्टेम्बर 2014
Image caption मुख्य दलहरुले संविधानसभा भवनमा नै सर्वदलीय राजनीतिक सम्मेलन गर्ने निर्णय गरेका छन्

संविधानसभाको निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादी सहितका दलहरुसँग गर्ने भनिएको सर्वदलीय राजनीतिक सम्मेलन अन्तत: भदौ ३१ गते हुने भएको छ।

नेकपा-माओवादी सहितका प्रमुख चार दलले बनाएको कार्यदलको शुक्रबार बसेको बैठकले सम्मेलनको मितिसंगै स्थान र समय तय गरेको हो।

उक्त आठ सदस्यीय कार्यदलले शनिबार बैठक गरेर सर्वदलीय राजनीतिक सम्मेलन सञ्चालनको कार्यविधि टुंग्याउने बताइएको छ।

सम्मेलनमा संविधानसभाको निर्वाचन बहिष्कार गरेका र संविधानसभाको निर्वाचनमा सहभागी भएका दलहरुलाई सहभागी गराइने नेताहरुले बताएका छन्।

सहमति

पछिल्ला केही दिन यता जारी दलीय बैठकहरुमा मितिको विषयमा कुरा नमिलेपछि सम्मेलन नहुने हो कि भन्ने आशंकाहरु बढ्दै गएको थियो।

तर त्यस्तो आशंका अन्त्य गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र नेकपा-माओवादीका नेताहरु सम्मिलित कार्यदलले सम्मेलनको मिति, स्थान र समयमा सहमति जुटाएको हो।

एमाले उपाध्यक्ष भीम रावलले भने “ हाम्रो चार दलीय कार्यदलको बैठकले यहि भदौ ३१ गते बिहान ८.३० बजे संविधानसभाको एउटा सभाकक्षमा आरम्भ हुने गरी सहमति गरेका छौ।”

यसरी हुने सम्मेलनमा संविधानसभामा सहमति गरिएका र सहमति गर्न बाँकी विषयका अलावा शान्ति प्रक्रिया र केही राजनीतिक मुद्दाहरुमा छलफल हुने बताइए पनि अन्तिम टुङगो भने लागि सकेको छैन।

सम्मेलनमा कुन कुन दल सहभागी हुने भन्ने विषयको टुंगो कार्यदलको शनिबार बस्ने बैठकले लगाउने नेकपा-माओवादीकी नेत्री पम्फा भुसालले बताइन्।

उनले भनिन्, “सम्मेलन कस्तो हुने र त्यसको कार्यविधि के हुने लगायतका अरु विषयमा कार्यदलको अर्को बैठकमा टुङगो लगाउने सहमति गरेका छौँ।”

जटीलता

आयोजना र व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारमा रहने गरी गर्न लागिएको सम्मेलन कति लामो हुने भन्ने निर्क्यौल हुन बाँकी रहेको नेताहरुको भनाइ छ।

सम्मेलनमा भाग लिने दलहरुबारे निर्णय भएपछि समयावधिको टुङ्गो लाग्ने एमाले उपाध्यक्ष रावलले बताए।

उनले भने “हामीले यतिदिन भनेर तोकेका छैनौं, कति दलहरु सहभागी हुन्छन् र उनीहरुले प्रस्तुतिका लागि कति समय लिन्छन्। त्यसमा सम्मेलन कति समय लाग्छ भन्ने कुरा निर्धारित हुने छ।”

नेकपा-माओवादीले उक्त सम्मेलन मार्फत संविधानका अन्तरवस्तुबारे टुङ्गो लगाइनुपर्ने बताएको छ।

तर सतारुढ दलहरु संविधानसभामार्फत नै संविधान लेखनको प्रकृया अघि बढाउनुपर्ने अडानमा छन्।

सम्मेलनले केही निर्णय गरे त्यसले संविधानसभामा कसरी प्रवेश पाउँछ भन्ने विषय अझै प्रष्ट भइसकेको छैन।

सत्तारुढ दलहरुले सम्मेलनमा भएका सहमतिबारे अन्तिम निर्णय संविधानसभाले गर्ने धारणा राख्दै आएका छन्।

नेकपा-माओवादीले दलहरुका बीचमा सहमति भए त्यसलाई कहांबाट अनुमोदन गराउने भन्ने विषय सामान्य प्राविधिक कुरा भएको बताएको छ।