मलालाका आक्रमणकारी पक्राउ

  • 13 सेप्टेम्बर 2014

अभियानकर्ता मलाला युसफजाइलाई गोली हान्ने विद्रोहीहरुलाई गिरफ्तार गरिएको पाकिस्तानी सेनाले बताएको छ।

तस्वीर कपीराइट AFP
Image caption छोरीलाई शिक्षामा अधिकार माग गरेका कारण मलाला युसुफजाइको टाउकोमा गोली हानिएको थियो

छोरीलाई पढाउनुपर्ने अभियानमा संलग्न रहेका कारण किशोरी मलालालाई अक्टोबर २०१२मा तालेबान बन्दुकधारीले टाउकोमा गोली हानेका थिए।

पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा स्कूलबसमा चढेर ति विद्रोहीहरुले उनीमाथि गोली प्रहार गरेका थिए त्यसमा उनका दुइ साथी पनि घाइते भएका थिए।

संसारलाई स्तब्ध पारेको उक्त घटनाबाट उनी बाँचिन् र साथसाथै उनको अन्तर्राष्ट्रिय ख्याती भयो।

'शुरा'

तस्वीर कपीराइट Getty
Image caption पाकिस्तानको स्वात उपत्यकाबासी मलालालाई तालेबान विद्रोहीले स्कूलबसमा चढेर गोली हानेका थिए

शुक्रबारको प्रेस सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ता असीम बाज्वाले मलाला युसफजाइको आक्रमणमा संलग्न समुह गिरफ्तार भएको जानकारी दिए।

प्रवक्ता बाज्वा भन्छन्, "भने यो समुहलाई सुरा भनिन्थ्यो। यिनिहरु मुल्ला फजलुल्लाको निर्देशन बमोजिम काम गर्ने गरेका छन्। फजलुल्ला र अन्यहरु अफगानिस्तानमा बसेर पाकिस्तानमा ध्वंश मच्चाइरहेका छन् त्यसैले हामीहरु उनीहरुलाई नियन्त्रणमा लिन चाहन्छौं।"

पाकिस्तानको सेना, प्रहरी र गुप्तचर एजेन्सीको संयुक्त कारवाहीमा उक्त समुह गिरफ्तार भएको थियो।

गिरफ्तार गरिएकाहरुको बयान लिइरहेको र उनीहरुलाई आतंकबाद विरुद्धको अदालतमा प्रस्तुत गरिने प्रवक्ताले बताएका छन्।

तस्वीर कपीराइट AP
Image caption नाइजेरियामा बोकोहरामकले दुइ सय भन्दा बढी किशोरी अपहरण गरेपछि त्यस विरुद्ध आवाज उठाउन मलाला त्यहाँ पुगेकी थिइन्

मलाला पछि आक्रमण गर्नका लागि तयार पारिएको स्वात क्षेत्रका २२ जना मुख्य अभियानकर्ताहरुको सूचि पनि सेनाले प्राप्त गरेको उनी बताउँछन्।

ख्याती

आक्रमण हुनु अघि नै मलालाले छोरीलाई शिक्षाको अधिकार माग गरेका कारण पाकिस्तानमा ख्याती कमाइसकेकी थिइन्।

सन २००९ मै बीबीसी उर्दुका लागि स्वात उपत्यका नियन्त्रणमा लिएका तालेवान विद्रोही अन्तर्गतको जीवन भन्ने दैनिकी लेखेर धेरैको आँखामा परेकी थिइन्।

इयुको प्रतिष्ठित शाकारोभ मानव अधिकार पुरस्कारबाट गत वर्ष पुरस्कृत भएकी थिइन्।

उनी अहिले ब्रिटेनको बर्मिङग्घममा बस्छिन् जहाँ उनीलाई गोली प्रहारपछि उपचारका लागि ल्याइएको थियो।

तस्वीर कपीराइट PA
Image caption मलालाको चित्र विक्रीमा राखेर उठेको पैसाले छोरी शिक्षामा लगानी गर्ने भनिएको छ

उनलाई टाइम म्यागेजिनले सन २०१३को सबभन्दा प्रभावकारी मानिसहरुको सूचिमा राखेको थियो।

उनी नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परिन् र हालै उनको आत्मकथा प्रकाशित भएको छ।

उनले संयुक्त राष्ट्र संघलाई संबोधन समेत गरिसकेकी छन्, "कमजोरी, डर र निराशा मर्यो; तागत, शक्ति र शाहस जन्म्यो। म यहाँ हरेक बच्चाको शिक्षाको अधिकारका लागि आएकी हुँ।"

उनी र उनको परिवारलाई परेको खतराका कारण उनी पाकिस्तान फर्कन पाएकी छैनन्।