जनमत संग्रहको 'अन्तिम' अभियान तीव्र

  • 13 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption स्कटल्याण्डको स्वतन्त्रताबारे निर्णय गर्न आगामी बिहीबार जनमत संग्रह हुँदैछ

स्कटल्याण्डको स्वतन्त्रता बहसमा उद्यमी र बैंकहरुको हस्तक्षेपलाई लिएर देखिएको विवाद जनमत संग्रह अघिको अन्तिम सप्ताहान्तमा तीव्र भएको छ।

स्कटल्याण्डका सरकार प्रमुख एलेक्स सालमोन्डले तेल कम्पनी, सुपरमार्केट र लण्डनको धम्कीबाट स्कटीश जनता नडराउने बताएका छन्।

स्वतन्त्रताका पक्षधरहरुले स्कटल्याण्डको अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान आफूहरुले आयोजना गरिरहेको बताएका छन्।

बिहीबारको जनमत संग्रहमा एकदमै कडा प्रतिस्पर्धा हुनसक्ने मत सर्वेक्षणहरुले देखाएका छन्।

अभियान

'यस स्कटल्याण्ड' अभियानले साढे ४ सय भन्दा बढी स्टलहरु राखेर स्वतन्त्रताको पक्षमा समर्थन जुटाउन सप्ताहन्तमा ३५ हजार स्वयंसेवक परिचालन गरिरहेको बताएको छ।

बिहीबार हुने मतदानका लागि उनीहरुले ४८ घण्टामा २६ लाख भन्दा बढी स्वतन्त्र स्कटल्याण्ड पक्षधर पर्चाहरु बाँड्ने जनाएको छ।

स्वतन्त्रताको विपक्षमा रहेका हजारौँले स्कटल्याण्ड संयुक्त अधिराज्यसँगै रहनुपर्छ भन्ने ऐक्यबद्धता जनाउन लागिएको एउटा कार्यक्रममा भाग लिने तयारी गरिरहेका छन्।

यसैबीच डेली रेकर्ड भन्ने पत्रिकामा पत्र लेख्दै तीनवटा खुद्रा व्यापार कम्पनीका प्रमुखहरुले स्वतन्त्र स्कटल्याण्डमा मूल्यवृद्धि टार्न नसकिने दावी गरेका छन्।

लत्ता कपडा र घरासायी प्रयोगका सामाग्रीहरुको व्यापार गर्ने कम्पनीहरु मार्क्स एण्ड स्पेन्सर, बी एण्ड क्यु र टिम्पसन्सका प्रमुखद्वारा हस्ताक्षर गरिएको पत्रमा फ्रान्स, आयरल्याण्ड र अन्य स्थानमा कारोबार गरिरहेको जनाउँदै नयाँ देशमा व्यापार गर्दा महंगी बढ्ने चेतावनी दिएका हुन्।

तर जेडी विदरस्पुन नामक मदिरालयहरुका सञ्चालक टिम मार्टीनले स्कटल्याण्ड आफैँ अघि बढ्न सक्ने बताएका छन्।

अन्यौल

पर्थमा शुक्रबार साँझ सम्बोधन गर्दै स्कटीश सरकार प्रमुख साल्मन्डले एउटा समृद्ध देश निर्माण गर्ने अवसर नजिक रहेको भन्दै ठूला कम्पनी र लण्डनको ठूलो सरकारबाट नडराउने बताएका थिए।

उनले भने, “स्कटल्याण्डको इतिहासमा नै पहिलोपटक सेप्टेम्बर १८ मा हामी, जनताहरुकै हातमा आफ्नो भविष्यबारे निर्णय गर्ने अवसर छ, १९ तारिखमा पुरानै अवस्थामा हामी ब्युँझन चाहन्नौँ, हाम्रो लागि र भविष्यको पुस्ताका लागि समेत सही निर्णय गर्यौँ भन्दै हामी व्युझिनेछौँ।”

उनले देशको उच्च वित्तीय निकायले पत्रकारहरुलाई यदि स्वतन्त्रताको पक्षमा मतदान भए रोयल बैंक अफ स्कटल्याण्डको मुख्यालयलाई एडिनवराबाट लण्डन सारिने गोप्य सूचना चुहाएकोमा आक्रोश व्यक्त गरेका छन्।

उनले कसले त्यो सूचना चुहायो भन्नेबारे जानकारी दिन ब्रिटेनका उच्च प्रशासकसँग माग गरेका छन्।

जर्मन बैंक डोइचे बैंकका प्रमुख अर्थविद् फोल्कर्टस लान्डाओले स्वतन्त्र स्कटल्याण्डको पक्षमा निर्णय गरिनु गम्भीर गल्ती हुने र त्यसले सन् १९३० को दशकको जस्तै गम्भीर आर्थिक मन्दी निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

स्कटीश अर्थमन्त्री जोन स्विनीले विश्वका अरु कुनै देश भन्दा बलियो आर्थिक आधारमा स्वतन्त्र स्कटलेण्डले आफ्नो नयाँ जीवन सुरु गर्ने बताएका छन्।

जनमत संग्रहमा स्वतन्त्रताको पक्ष वा विपक्षमा मत हाल्ने निर्णय नगरिसकेका मतदाताहरुलाई सामेल नगरी गरिएको भनिएको बिहीबार साँझ सार्वजनिक यूगभ भन्ने निकायको सर्वेक्षणले ५२ प्रतिशत स्वतन्त्रताको विपक्षमा र ४८ प्रतिशत पक्षमा रहेको देखाएको थियो।