'हेन्सका हत्यारालाई कानुनसामु ल्याउंछौं'

  • 14 सेप्टेम्बर 2014
david
Image caption डेभिड हेन्स गत वर्ष सिरियाबाट अपहरणमा परेका थिए

ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले एक जना ब्रिटिश सहायताकर्मीको हत्यामा संलग्नहरुलाई जति नै समय लागेपनि खोजी गरी कानूनी कठघरामा उभ्याउने बताएका छन्।

उग्रवादी समूह इस्लामिक स्टेट आइएसले ब्रिटिश सहायताकर्मी डेभिड हेन्सको घांटी रेटी हत्या गरेको भिडियो सार्वजनिक भएलगत्तै बसेको आपतकालीन बैठकपछि क्यामरनले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

खतरा

प्रधानमन्त्री क्यामरनले इस्लामिक स्टेट पूरै मध्यपूर्वका लागि खतरा भएको भन्दै उसलाई नष्ट गर्नुपर्ने बताए।

उनले भने, "हामी विस्तृत प्रतिआतंकवाद रणनीतिमार्फत आइएसलाई पराजित गर्नेछौं। यो खतरासंग जुध्न हामी जस्तोसुकै कदम चाल्नुपरे पनि चाल्नेछौं र आफ्नो देशलाई सुरक्षित राख्नेछौं"।

ब्रिटिश सहायताकर्मीको हत्या गर्ने उक्त संगठनविरुद्ध भविष्यमा चाल्ने कदमबारे बोल्दै उनले अमेरिकाको प्रत्यक्ष सैनिक कारवाहीलाई सघाउने लगायतका योजना अगाडि सारे।

गत वर्ष सिरियाबाट अपहरणमा परेका ४४ वर्षे हेन्सको घांटी रेटी हत्या गरेको भिडियो आइएस उग्रवादीहरुले इन्टरनेटमा राखेका थिए।

पछिल्ला केही सातामा यसरी आइएसको शिकार हुने उनी तेस्रो पश्चिमा र पहिलो ब्रिटिश नागरिक हुन्।

सम्बोधन

भिडियोमा हेन्सका हत्याराले अमेरिकाका समर्थकहरुलाई सम्बोधन गरेको छ।

हेन्सले निश्चित रुपमा दबाबमा परेर ब्रिटिश प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफ्नो स्थितिको जिम्मेवार उनी नै भएको आरोप लगाएका थिए।

उनले इस्लामिक स्टेट विरुद्धको अमेरिकी गठबन्धनमा सहभागी हुने संसदको स्वार्थी निर्णयको मूल्य आफूहरुले चुकाउनु परेको बताएका थिए।

भिडियोको अन्त्यमा दोश्रो ब्रिटिश नागरिकलाई देखाएर धम्की दिइएको छ।

ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले उक्त हत्याको कडा शब्दमा भर्त्सना गरेका छन्।

४४ वर्षिय डेभिड हेन्स दुई सन्तानका पिता हुन्।

बदला

इस्लामिक स्टेटका लडाकुहरुले यसअघि दुईजना अमेरिकी पत्रकारहरुको पनि घाँटी रेटेर हत्या गरेका थिए।

त्यसलाई इराकमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफ भनिएको थियो।

हेन्सलाई अमेरिकी पत्रकार स्टीभेन सट्लफको हत्या गरिएको भिडियो देखाइएको थियो र त्यसअघि अर्का अमेरिकी पत्रकार जेम्स फोलीको पनि हत्या गरिएको थियो।

अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि बर्बर भन्दै हेन्सको हत्याको भर्त्सना गरेका छन्।