हराउनेमा धेरै बालिका: प्रतिवेदन

  • 14 सेप्टेम्बर 2014
तस्वीर कपीराइट ministry of women
Image caption सरकारले एकीकृत योजना नबनाएकाले हराएका बालबालिका खोजी कार्य प्रभावकारी हुन नसकेको बताइन्छ

नेपालमा गत वर्ष मात्रै १४ सयभन्दा बालबालिकाहरु हराएको हालै सार्वजनिक एक सरकारी आँकडाले देखाएको छ।

राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनका अनुसार हराएकामध्ये पनि ठूलो संख्या बालिकाहरुको रहेको छ।

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार सन् २००१२/१३ मा करिब १४ सय ५० बालबालिका हराएको सूचना अभिभावकहरुले विभिन्न निकायहरूमा दिएका थिए।

सन् २००११/१२ मा हराउनेको संख्या अझ बढी थियो।

कहिल्यै भेटिन्नन्

हराएका प्रत्येक पाँच जनामध्ये दुई बालबालिका कहिल्यै नभेटिने गरेको डरलाग्दो अवस्था उक्त प्रतिवेदनले औंल्याएको छ।

उक्त प्रतिवेदन बालबालिका खोजतलास केन्द्रको तथ्यांकमा आधारित छ।

खोजतलास केन्द्रका कार्यक्रम अधिकृत भीम विक्रम शाही भन्छन्, 'हाम्रो तथ्याङकमा हराउने बालबालिकाको संख्या एक वर्षमा २४ सय सम्म पनि पुगेको छ।'

बालिका धेरै

यसरी हराउने बालबालिकाहरुमा बालिकाको संख्या धेरै छ ।

उनीहरु अधिकांश ११ देखि १४ वर्ष उमेर समूहका छन्।

काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, हुम्ला, जुम्ला लगायतका जिल्लामा बालबालिका हराएका सूचनाहरु धेरै आउने गरेको बताईएको छ।

हराएपछि सूचना नदिएइएका बालबालिकाहरुको संख्या पनि उल्लेखनीय हुन सक्ने बालबालिकाको खोजतलासको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको अनुमान छ।

यसरी हराएका बालबालिकाहरु घरेलु कामदार, मनोरन्जनका काम र यौन जन्य ब्यवसायमा लगाउने गरेको पाईएको बालबालिकाकै क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था सिविन नेपालका कार्यक्रम संयोजक मधु दवाडी बताउँछन्।

उनी भन्छन् “केही बालबालिकाहरु श्रममा जान्छन, त्यसमा घरेलु श्रम र अस्वीकृत क्षेत्र पनि छ, त्यसबाहेकका बालबालिकाहरु मनोरन्जनको क्षेत्रमा जान्छन भने बालिकाहरु यौनजन्य ब्यवसायमा जवरजस्ती संलग्न गराईएको तथ्याङक छ।“

हराएका बालबालिकाको खोजी गर्ने कामलाई प्रभावकारी बनाउन सरकारले विभिन्न संयन्त्र निर्माण गरे पनि एकीकृत योजना नबनाएका कारण बालबालिका हराउने क्रम नरोकिएको त्यसक्षेत्रमा काम गर्नेहरुको अनुभव छ।