ब्रिटिस नागरिक 'हत्या'को भिडियो सार्वजनिक

  • 14 सेप्टेम्बर 2014
Image caption ब्रिटिस नागरिक हेइन्स तीन सातामा 'मारिने' तेश्रो पश्चिमा हुन्

ब्रिटिश सरकारले इस्लामिक स्टेटका विद्रोहीहरुको नियन्त्रणमा रहेका आफ्ना नागरिक डेभिड हेइन्सको घाँटी रेटिएको देखिने भिडियोको द्रुत रुपमा प्रमाणिकरण गरिरहेको जनाएको छ।

मानवीय सहायताकर्मी हेइन्स गत वर्षको मार्च महिनामा सिरियामा अपहरणमा परेका थिए।

भिडियोमा उनलाई हातमा चक्कु बोकेको नकाबधारी विद्रोहीसँग घुँडा टेकेको अवस्थामा देखाइएको थियो।

उनी पछिल्ला तीन हप्तामा 'मारिने' तेश्रो पश्चिमा नागरिक हुन्।

सम्बोधन

भिडियोमा उनको हत्याराले अमेरिकाका समर्थकहरुलाई सम्बोधन गरेको छ।

र, हेइन्सले निश्चित रुपमा दवावमा परेर ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनलाई सम्बोधन गर्दै आफ्नो हालतको जिम्मेवार उनी नै भएको आरोप लगाएका छन्।

उनले इस्लामिक स्टेट विरुद्धको अमेरिकी गठबन्धनमा सहभागी हुने संसदको स्वार्थी निर्णयको मूल्य आफूहरुले चुकाउनु परेको बताएका छन्।

भिडियोको अन्तिममा दोश्रो ब्रिटिश नागरिकलाई देखाएर धम्की दिइएको छ।

ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले उक्त हत्याको कडा शब्दमा भर्त्सना गरेका छन्।

दानवीय

उनले एकजना निर्दोष मानवीय सहायताकर्मीको हत्या घृणित र तुल्छ कार्य भएको टिप्पणी गर्दै भने, “यो एउटा विशुद्ध दानवीय कुकर्म हो।”

तस्वीर कपीराइट epicture
Image caption हेइन्सले भिडियोमा ब्रिटिस प्रधानमन्त्रीलाई आफ्नो हालतको जिम्मेवार बताएको देखाइएको छ

हत्याराको खोजीका निम्ति हरेक उपाए अपनाइने उनको दृढता छ।

प्रधानमन्त्री क्यामरनले कठीन घडीमा पनि हेइन्सको परिवारले असाधारण साहस र धैर्य देखाएको भन्दै उनीहरुप्रति सहानुभूति प्रकट गरेका छन्।

हिंजो मात्रै परिवारजनले विदेश मन्त्रालय मार्फत एउटा वक्तव्यमा इस्लामिक स्टेटसँग उनको ज्यान नलिन आग्रह गरेका थिए।

४४ वर्षिय डेभिड हेइन्स दुई सन्तानका पिता हुन्।

बदला

इस्लामिक स्टेटका लडाकूहरुले यसअघि दुईजना अमेरिकी नागरिकको पनि घाँटी रेटेर हत्या गरेका थिए।

जसलाई इराकमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफ भनिएको थियो।

हेइन्सलाई अमेरिकी पत्रकार स्टीभेन सट्लफको हत्या गरिएको भिडियो देखाइएको थियो र त्यसअघि अर्का अमेरिकी पत्रकार जेम्स फोलीको पनि हत्या गरिएको थियो।

अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि बर्बर भन्दै हेइन्सको हत्याको भर्त्सना गरेका छन्।