'कैयौं अरब राष्ट्रहरु आइएसविरुद्ध लड्न राजी'

  • 15 सेप्टेम्बर 2014
Image caption अरब मन्त्रीहरु हालै भएको बैठकपछि सहयोगका लागि ठोस प्रतिबद्धता जनाएको बताईएको छ।

अमेरिकी विदेशमन्त्री जोन केरिले सिरिया र इराकमा इस्लामिक स्टेट विद्रोहीविरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनलाई सघाउन झण्डै ४० वटा अरब राष्ट्रहरुले प्रस्ताव गरेको बताएका छन्।

तर त्यस्ता कदम चाल्नका निम्ति इराकी सरकारको अनुमति चाहिने उनले स्पष्ट पारे।

केरिले अतिवादी समूहको सामना गर्नका निम्ति सैन्य सहयोग गर्ने प्रतिवद्धताहरुबाट आफू निकै उत्साहित भएको बताए।

इस्लामिक स्टेट विद्रोहीविरुद्धको कारवाहीमा समर्थन जुटाउने उद्देश्यका साथ मध्यपूर्वको भ्रमण सकेपछि पेरिसमा बोल्दै उनले यस्तो बताएका हुन्।

आक्रमण

यद्यपि वर्तमान अवस्थामा अमेरिकाले इराकमा स्थल सेना पठाउन नचाहेको केरिले बताए।

अमेरिकाले पछिल्ला केही सातायता इराकमा इस्लामिक स्टेट विद्रोही लडाकुहरु लक्षित हवाई आक्रमण गर्दै आएको छ।

विद्रोहीद्वारा दुईजना अमेरिकी पत्रकारहरुको हत्या गरिएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनीहरुलाई ध्वस्त र तहसनहस पार्ने घोषणा गरेका थिए।

उनले भने, ''आवश्यक परेको खण्डमा हवाई आक्रमणमा सघाउन त्यस क्षेत्रका र बाहिरका मुलुकहरु तयार छन्।''

केही मुलुकहरुले इराकमा स्थल सेना पठाउन चाहेपनि अहिले त्यो विकल्प आवश्यक नभएको उनले बताए।

सम्मेलन

इराकको सुरक्षा र इस्लामिक स्टेट विद्रोहीको कसरी सामना गर्ने भन्ने विषयमा फ्रान्सले सोमबार एउटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ।

उक्त विषयमा विभिन्न मुलुकका विदेशमन्त्रीहरुले गहन छलफल गर्ने बताईएको छ।

यसअघि इराकमा इस्लामिक स्टेट विद्रोहीविरुद्ध संभावित सैन्य आक्रमणमा सघाउनका निम्ति अष्ट्रेलियाले आफ्ना ६ सय सैनिक पठाउने घोषणा गरेको थियो।

अमेरिकी गुप्तचर संस्था सिआइएका अनुसार इस्लामिक स्टेट विद्रोहीसँग उक्त क्षेत्रमा ३० हजारको हाराहारीमा लडाकुहरु रहेका छन्।

उक्त समूहले इराक र सिरियाको ठूलो भूभागमाथि कब्जा जमाएको बताईएको छ।