कांग्रेस केन्द्रीय समितिको म्याद एकवर्ष थप

  • 15 सेप्टेम्बर 2014
Image caption प्रधानमन्त्री सुशील कोइराला असोज ३ गते राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन्।

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले महाधिवेशनको तयारी गर्न नसकेको भन्दै आफ्नो कार्यकाल सकिनै लाग्दा त्यसलाई एक वर्ष लम्ब्याउने निर्णय गरेको छ।

बल्लबल्ल सात महिनापछि बसेको केन्द्रिय समितिको बैठकले संविधान निर्माणको विशेष परिस्थितिमा रहेको भन्दै पार्टी विधानमा व्यवस्था भए अनुसार कार्यसमितिको समयावधि थपेको हो।

त्यसमा देउवा पक्ष निकट भनिएका केही नेताहरुले असहमति जनाएका छन्।

नेपाली कांग्रेसको गत माघमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने निर्णय गरे यता समितिको कुनै बैठक बस्न सकेको थिएन।

बेवास्ता

नेविसंघलगायत विभिन्न भ्रातृसंगठनको चुनावसमेत गराउन नसकेको आरोप खेपिरहेको दलको नेतृत्वले केन्द्रिय समितिको बैठक बोलाउन केही नेताहरुले गरेको आग्रहलाई बेवास्ता गर्दै आएको थियो।

एकैपटक सातमहिनापछि बसेको सोमबारको बैठकले पार्टी विधान अनुसार वर्तमान समयलाई असाधारण परिस्थिति भन्दै समितिको कार्यकाल थप्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्र बडुले बताए।

उनले भने, "पार्टीको संविधान निर्माणका क्रममा भएको व्यस्तताको कारणले पार्टीको विधानमा भएको व्यवस्था अनुसार १ वर्ष म्याद थप्ने प्रस्ताव पारित भयो।" २०६७ सालमा भएको १२ औं महाधिवेशन यता केन्द्रिय समितिले वर्षैपिच्छे महासमितिको बैठक गराउन नसकेको, ४२ वटा विभिन्न विभागले काम गर्न नसकेको, विभिन्न भ्रातृसंगठनको चुनाव हुननसकेको भन्दै संस्थापन पक्षको आलोचना हुँदै आएको थियो।

असन्तुष्टि

यस्तो अवस्थामा समयावधि सकिने अन्तिम समयमा आएर असाधारण परिस्थिति भन्दै पार्टीले गरेको निर्णयप्रति देउवा पक्षका भनिने प्रकाशशरण महत, बालकृष्ण खाँड, शंकर भण्डारीलगायत नेताले असन्तुष्टि जनाएका थिए।

ती मध्येका एक महतले भने, "असाधारण स्थिति त केही थिएन एमालेले पनि अधिवेशन ग-यो, हामीले पनि गर्थ्यौं, तर बैठक नबस्दा कुनै निर्क्यौल निकाल्न सकिएन।" कार्यसमितिको बैठकले एजेन्डामा राखेको संविधानका विवादित विषयमाथिको आफ्नो धारणालगायत विषयमा समयअभाव भन्दै विषय प्रवेश मात्रै भएको बताइएको छ।

आउँदो शुक्रबार प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइराला अमेरिका गएपछि साउन ५ गते बस्ने कार्यसमितिको बैठकको सभापतित्व उपसभापति रामचन्द्र पौडेलले गर्नेछन्।